Logo

८ मंसिर, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।

उनी आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेश श्रेष्ठ भन्दा ३४ हजार १६२ मतान्तरले विजयी भएका हुन ।

लामिछानेले ४९ हजार २६१ भोट प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेश श्रेष्ठले १५ हजार ९९ मत प्राप्त गरेका छन्। नेकपा एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६४९ भोट पाए। यो निर्वाचन क्षेत्रमा ८४ हजार ३१७ जनाले मतदान गरेका थिए ।

चितवन क्षेत्र नं. २ मुख्यतः एमालेको प्रभाव क्षेत्र हो। यहाँबाट २०७० र २०७४ सालमा दुवैपटक कृष्णभक्त पोखरेल निर्वाचित भएका थिए। यसपालिको स्थानीय निर्वाचनमा पनि एमालेकै मत धेरै थियो।

त्यसैले यहाँ एमालेका कृष्णभक्त पोखरेल र नेपाली कांग्रेसका उमेश श्रेष्ठबीच नै मुख्य प्रतिस्पर्धा हुने अनुमान थियो। तर रविको प्रवेशले यहाँको राजनीतिक नक्सा बदलिदियो हो । रवि लामिछानेले चितवन क्षेत्र नं २ बाट निर्वाचन लडने घोषणा गरेपछि एमाले र नेपाली कांग्रेसका स्थानीय नेता कार्यकर्ताले लामिछानेको पक्षमा खुलेर मत मागेका थिए ।

परम्परागत रूपमा एमाले र कांग्रेसलाई मत दिँदै आएका मतदाताहरू नै रवितिर कित्ता सरेपछि लामिछानेले नेतृत्व गरेको राष्ट्रिय स्वतन्त्र पार्टी बलियो देखिएको हो ।

रविले लामो समय विभिन्न टेलिभिजनमा ‘सिधा कुरा जनता’ सँग भन्ने कार्यक्रम चलाए। त्यो कार्यक्रमबाट उनले अनियमितताविरूद्ध आवाज उठाएको, असहायहरूलाई सहयोग गरेको र सामाजिक काममा सक्रिय भएको भनेर धेरै मतदाताले रविको प्रशंसा गरेका थिए।

चितवन २ का मतदाताले रविलाई मनपराउनुको अर्को मुख्य कारण उनी चितवनमा हिरासतमा पर्दाको घटना पनि हो। २०७६ साउनमा रविकै सहकर्मी पत्रकार शालिग्राम पुडासैनीको मृत्यु प्रकरणमा आत्महत्या दुरूत्साहनको मुद्दामा रविलाई प्रहरीले चितवनमा हिरासतमा राखेको थियो।

उनी त्यो बेला नै टिभी कार्यक्रममार्फत् लोकप्रिय थिए। उनको समर्थनमा चितवनमा हरेक दिनजस्तो प्रदर्शन भएको थियो। रविलाई अन्याय भयो, उनलाई फसाइँदैछ भनेर त्यो बेला नै धेरै चितवनवासी प्रदर्शनमा ओर्लिएका थिए।

उनी हिरासतबाट छुट्दा नारायणी नदी किनारमा ठूलो संख्यामा समर्थक भेला भएका थिए। त्यही बेलादेखि रविसँग चितवनवासीको र चितवनसँग रविको साइनो प्रगाढ भएको रवि लामिछानेले बताउदै आएका थिए ।


सम्बन्धित समाचार