Logo

१ बैशाख, वीरगञ्ज । वीरगन्जमा हिजोदेखि रात्री बजार सुरु भएको छ । हिजो २०७९ साललाई बिदाई गरेसँगै आजदेखि नयाँवर्षको स्वागत गर्नका लागि तिनदिनको रात्री बजारको सुरु भएको हो ।

वीरगन्ज महानगरपालिकाले विभिन्न संघ संस्थाहरुको सहकार्यमा आयोजना गरेको रात्री बजारको हिजो पहिलो दिनमै आगन्तुकहरुको उत्साजनक उपस्थिति देखिएको थियो । पुरानो बसपार्कस्थित चलिरहेको रात्री बजारमा विभिन्न कपडा, विद्युतीय सामान, विभिन्न परिकारका खानाहरु लगायतका ८८ वटा तथा बाहिर सडकमा ८० वटा स्टलहरु राखिएका छन् ।

विभिन्न झिलिमिली बत्ती तथा सजावटले आदर्शनगर क्षेत्रलाई दुलही झै सिगांरिएको छ । तीन दिनको लागि आयोजना गरिएको रात्री बजारमा बजार हेर्न र किनमेल गर्न आउनेहरुलाई मनोरञ्जनका लागि सांस्कृतिक कार्यक्रम तथा बच्चाहरुको मनोरञ्जनका लागि झुलुवा लगायतको समेत व्यवस्था गरिएको ग्रिनसिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले जानकारी दिनुभयो ।

उहाँले रात्री बजार सोचे अनुसार नै भएको बताउनुभयो । रात्री बजारमा स्टल लगाउने व्यापारीहरुलाई एकदिनको आन्दानीकोबारे बुझ्न खोज्दा प्रत्येक व्यापारीले ८ हजारदेखि २० हजारसम्मको आम्दानी भएको बताएका अध्यक्ष खेतानले बताउनुभयो । उहाँका अनुसार हिजो पहिलो दिनमात्र रात्री बजारमा ५० लाखसम्मको व्यापार भएको अनुमान गरिएको छ ।

रात्री बजारमा चाट र चाउमिनको स्टल लगाएका वीरगञ्ज–१० का व्यापारी सन्नी कुमारले राम्रो व्यापार भएको बताउनुभयो । उहाँले ५ बजेदेखि लगाएको स्टलमा ११ बजेसम्ममा १० हजार बिक्री भएको जानकारी दिनुभयो ।

त्यस्तै अर्का केएफसी व्यापारी कलैयाका रोहन थापाले व्यापार नहुनेको हो कि भन्ने चिन्ताले कम बजेटमा खानाका परिकार तयार पारेपनि सोचेभन्दा बढि व्यापार भएको भन्दै खुसी व्यक्त गर्नुभयो । उहाँका अनुसार उहाँका स्टलमा १ सय देखि १ सय ५० रुपैँयासम्मका केएफसीका परिकार बिक्री गरिन्छ ।

रात्री बजार बैशाख २ गते सम्म चल्ने आयोजक वीरगञ्ज महानगरपालिकाले जनाएको छ ।


सम्बन्धित समाचार