Logo

३ बैशाख, वीरगञ्ज । वीरगंज महानगरपालिकाले आयोजना गरेको तिनदिनको रात्री बजारमा झण्डै ३ करोड रुपैयाँ बराबरको कारोवार भएको छ ।

आर्थिकमन्दी कै कारण शिथिल बनेको व्यापार व्यासायलाई माथि उकास्ने उद्देश्यसहित गत चैत्र ३० गतेदेखि बैशाख २ गतेसम्मका लागि वीरगञ्ज महानगर सहित विभिन्न संस्थाको सहभागीतामा आयोजना गरेको रात्री बजारमा ३ करोडको कारोवार भएको हो ।

महानगरले विभिन्न सघं सस्थांहरुसँगको सहकार्यमा आयोजना गरेको साँझ ७ बजेदेखि राती १ बजेसम्म चलेको रात्री बजारमा पहिलो दिन ५० लाख, दोस्रो दिन १ करोड रुपैँया बराबरको कारोवार भएको थियो ।

दैनिक ५० हजार सर्वसाधारणले घुमघाम गर्न सक्ने गरि लगाईएको रात्री बजारमा बारा पर्सा लगायत भारतीय सिमावर्ति क्षेत्रबाट उल्लेख्य मानिसहरु बजार घुम्न आएका ग्रिनसिटी सामुदायिक सेवा केन्द्र आर्दशनगरका अध्यक्ष जयप्रकाश खेतानले बताए । भारतको सिलगढीदेखि ल्याईएको फुट स्पा तथा मसाज, ट्याटु लगायतमा युवायुवती विशेष आकर्षित देखिएको उनको भनाई छ ।

१ सय ८८ वटा विभिन्न भोजपुरी, मैथिली, थारु, नेवारीसँगै अन्य परिकारका खानाका स्टलहरुमा मानिसहरुको घुइँचो देखिएको आयोजक समितिका सदस्य नुतन सरावगीले जानकारी दिनुभयो । रात्री बजारमा खानाका परिकार, मनोरञ्जनका लागि झुलुवाका साथसाथै मित्र राष्ट्र भारतको कोलकता र स्थानिय कलाकारहरुको सागिंतिक एवम् सास्कृतिंक प्रस्तुतिको व्यवस्था गरिएको थियो ।

साँझ नपर्दै सुनसान हुने वीरगञ्ज शहरलाई अबेर रातीसम्म जगाएर पारिवारिक वातावरणमा खानपान, किनमेल गर्नेको भिडले वीरगञ्जमा रात्री मेलाको राम्रो सम्भावना बोकेको पुष्टि भएको महानगर प्रमुख राजेशमान सिहंले जानकारी दिनुभयो । आर्थिक सकंटका कारण सुस्ताएको व्यापार व्यावसाय चलायमान बनाउन समेत रात्री बजारले सकारात्मक सन्देश प्रवाह गरेको मेयर सिंहले बताए।

रात्री बजारको उद्देश्यप्राप्ति गर्न सफल भएकाले आफूहरु खुसी भएको मेयर राजेशमान सिंहले बताए । उनले वीरगञ्जको व्यवसायलाई प्रवद्र्धन गर्न स्थानीय सरकारको नाताले महानगरपालिकाले आगामी दिनहरुमा समेत यस्तै मेलाको आयोजना गर्ने जानकारी दिए ।

रात्री बजारतर्फ आकर्षित सर्वसाधारण तथा व्यवसायीले कम्तीमा पनि महिनामा एकपटक दुई दिनका लागि रात्रीकालीन मेला आयोजना गर्नुपर्ने माग गरेका थिए । सोही बमोजिम मेयर राजेशमान सिंहले हिजो रात्री बजारको अन्तिम दिनमा मन्चबाटै प्रत्येक महिनाको अन्तिम शुक्रबार र शनिबार रात्रीमेलाको आयोजना गरिने घोषणा समेत गरेका छन् ।

आदर्शनगरदेखि पुरानो बसपार्क क्षेत्र समेटेर लगाईएको बजारमा वीरगञ्जको पहिचान बोकेको घण्टाघर र नेपाल भारत सिमाना छुट्टाउने शंंकराचार्य गेटसमेत कृत्रिम रुपले तयार पारिएको थियो । रात्री बजारमा टिकटक तथा सेल्फीका लागि स्यान्ड निर्माण गरेर युवायुवती लगायत बालबालिकालाई आकर्षित बनाईएको थियो ।

हरेक दिन राती १० बजेपछि बन्द हुने नेपाल भारत नाका समेत रात्री बजारकै लागि भनेर ३ दिनसम्म चौबिसै घण्टा खुल्ला राखिएको र पर्साको ग्रामिण क्षेत्र एवम् बाराको जितपुरसिमरा, पथलैया लगायत क्षेत्रमा आवातजावत गर्न समेत रात्रीकालीन यातायातको व्यवस्था मिलाइएकोले टाढाटाढाका सर्वासाधारणलाई बजारको अवलोकन गर्न सहज भएको अध्यक्ष खेताको भनाई थियो ।


सम्बन्धित समाचार