Logo

१५ फागुन,काठमाडौं । बाराको सुवर्ण गाउँपालिका र महागढीमाई नगरपालिकाका चार सय किसानलाई कृषि सामग्री उपलब्ध गराइएको छ । स्लामिक रिलिफ र जनजागरण युवा क्लब (जेजेवाइसी) ले चारसय जना किसानलाई कृषि सामग्री उपलब्ध गराइएको हो ।

सहज सिंचाई सहितको खेतीपातीका लागि किसानले माग गरे अनुसारका कृषि सामाग्री वितरण गरेको कार्यक्रम संयोजक डा.अजय कुमारले जनाए । डेढ वर्षदेखि समूहमा संगठित भई विभिन्न किसिमका तालिम लिएर जलवायु मैत्री खेतीपातीको प्रयासमा जुटेका किसानलाई सामग्री वितरण गरिएको उनले बताए ।

१५ हजार ९ सय ५० रुपैयाँ मूल्यको पानी तान्ने मोटर १०१ जनालाई, १ हजार ७ सय रुपैयाँको ३३० थान त्रिपाल, १० किलो बराबर २ हजार १ सय रुपैयाँको डेलिभरी पाइप दुई सय ६८ जनालाई वितरण गरिएको डा.अजयको भनाइ छ ।
कृषि सामग्री वितरण गर्न आयोजित कार्यक्रममा बोल्दै सुवर्ण गाउँपालिकाका अध्यक्ष राजेश राय यादवले कृषक समूलाई ५ लाख रुपैयाँ अनुदान दिने घोषणा गरे ।

अध्यक्ष यादवले स्लामिक रिलिफ नेपाल, स्लामिक रिलिफ क्यानडाको सहयोग तथा जनजागरण युवा क्लब जेजेवाइसी बाराको आयोजनामा सञ्चालित समुदायको उत्थानशिलता सुदृढिकरण एससिआर परियोजना अन्तर्गत गठित १० वटा समूहलाई ५० हजारका दरले जम्मा ५ लाख आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गरेका हुन् ।

उनले अनुदानको सदुपयोग भए अर्को वर्ष प्रति समूह १ लाखका दरले १० लाख अनुदान उपलब्ध गराउने समेत प्रतिबद्धता जनाए । सुवर्ण गाउँपालिकामा आयोजित कार्यक्रमको अध्यक्षता गरेका जेजेवाइसीका उपाध्यक्ष राजदेव साहले वितरित कृषि सामग्री उपयोग गरेर कृषि कर्मबाटै किसानको आर्थिक उन्नती भएको हेर्ने दाता सँस्थाको चाहना पुरा गर्न सबै लाभग्राहीलाई आग्रह गरे ।

परियोजना अन्तर्गत सुवर्ण गाउँपालिका र महागढीमाई नगरपालिकामा १०÷१० वटा महिला कृषक समूह गठन भएका छन् । प्रत्येक समूहमा २० जनाका दरले जलवायुमैत्री खेतिको प्रयासमा जुटेको परियोजनाका लैंगिक तथा संरक्षण अधिकृत लक्ष्मी खरेलले जानकारी दिईन् । २० वटै महिला कृषक समूह सम्बन्धित पालिकामा दर्ता छन् ।


सम्बन्धित समाचार