Logo

१२ वैशाख, पर्सा । पर्साको ग्रामीण भेगका किसानहरु माछापालनतर्फ आकर्षित भएका छन् । विभिन्न समस्याका कारण खेतीपातीलाई विस्थापित गर्दै किसान माछापालनतर्फ आकर्षित भएका हुन् ।

इन्धनको मूल्यमा वृद्धि, बिउ बिजन, रासायनिक मल, किटनाशक औषथी, सिँचाई समस्या, उत्पादित खाद्यन्नको उचित मूल्य नपाउनु लगायतका कारण किसानले खेतीलाई विस्थापित गर्दै माछापालनमा लागेका हुन् ।

पटेर्वासुगौली गाँउपालिका वडा नं ५ देउरिया निवासी किसान भागवती चौधरी धान, गँहु तथा अन्य बाली उत्पादनमा यहि समस्याका कारण दुई बिघा खेतमा पोखरी खनेर माछापालन गरेको बताइन् । ठूलो लगानी गरी उत्पादन गरिएका धान गँहुलाई कम मूल्यमा बेचेर किसानको प्रगति सम्भव नदेखेको उनको भनाइ छ । कृषिका लागि अन्य सामग्री उपलब्ध भएपनि ज्यामी पाउन निकै कठिन हुने उनले जानकारी दिइन् ।

यता पर्सागढी नगरपालिका वडा नं ३ बागवानाका किसान हरिन्द्र चौधरीले खेतीलाई बिस्थापित गरी माछापालनमा जुटेका छन् । अहिले तीस बिघा पोखरीमा माछापालन गरिरहेको उनले बताए । हाल वार्षिक दुई करोड मूल्य बराबरका माछा उत्पादन गरिरहेको उनले जनाए । उत्पादित माछा पर्सासँगै हेटौँडा, चितवन, काठमाडौं र पोखरा लगायतका ठूला शहरहरूमा पठाउने गरेको बताए ।

खेतीमा वार्षिक दुई बाली मात्र उत्पादन गर्न मिल्ने तर माछापालन व्यवसायमा बार्षिक चार पटक माछा उत्पादन गर्न सक्ने भएकाले किसानहरु यसतर्फ आकर्षित भएको उनको जिकिर छ । तर एक बर्ष यता माछाको दानाको मूल्य वृद्धि भएको र माछाको मूल्य नबढ्दा नाफा खासै नभएको उनले बताए । विगतमा २३÷२४ रुपैँया प्रतिकेजी दानाको भाउ पर्ने गरेकोमा अहिले सो मूल्य पचास रुपँैया पुगेको उनले जनाए ।

त्यस्तै छिपहरमाई गाँउपालिका वडा नं ४ बन्जारीका नरेश साहले तीन बर्षदेखि माछापालन व्यवसाय संचालन गर्दै आएको बताए । किसानका लागि बिउ बिजन, मलखाद सधै अभाव रहेको र बाली राम्रो हुँदा पनि हावाहुरी तथा वर्षाका कारण सधै क्षति बेहोर्नुपरेकोले माछापालनमा आकर्षण बढेको बताए ।

बजारमा माछाको माग उच्च रहेकाले उत्पादन मात्र गरे व्यापारीहरुले पोखरीबाट नै माछा खरिद गरी लैजाने साहको भनाइ छ । अहिले करिब पाँच बिघा पोखरीमा वार्षिक २० लाख रुपैँयाभन्दा बढिको माछा उत्पादन गर्दै आएका उनले जनाए ।


सम्बन्धित समाचार