Logo

१२ वैशाख, वीरगञ्ज। पर्सा प्रहरीले झण्डै १० लाख मूल्यका भन्सार छलीका सामानसहित औषधी बरामद गरेको छ । प्रहरीले ९ लाख ९० हजार १८० मूल्य बराबरका सामानसहित औषधी बरामद गरेको हो ।

विशेष सूचनाको आधारमा जाँच गर्दा जिल्लाका फरकफरक स्थानहरुबाट भन्सार छलीका लत्ताकपडा तथा औषधीहरु नियन्त्रणमा लिएको पर्साका प्रहरी प्रवक्ता कु्मार बिक्रम थापाले जानकारी दिए ।

प्रहरीले चलाएको जाँच अभियानका क्रममा वडा प्रहरी कार्यालय श्रीपूरले वीरगञ्ज महानगरपालिका वडा नम्बर ११ कृषि अनुसन्धान केन्द्रस्थित सडकखण्डबाट विभिन्न ब्राण्डका औषधीहरु नियन्त्रणमा लिएको प्रवक्ता थापाले बताए । उनका अनुुसार उक्त औषधीहरुको मूल्यांकन २ लाख १२ हजार रुपैँया कायम गरिएको छ ।

यसैगरि वडा प्रहरी कार्यालय विर्ताको टोलीले वीरगञ्ज–१६ रजतजयन्ती चोकबाट लत्ताकपडाहरु बरामद गरेको प्रहरीले जनाएको छ । प्रहरीले कुर्ता सुरुवाल २९० पिस, टप्स १९६ पिस, टिसर्ट ११० पिस, चिनी २८० केजी, मोबाईल डिस्पले ६० पिस, पाईप २ बण्डल, पाईन्ट थान १०० मिटर, सर्ट २१० मिटर गरी जम्मा ६ लाख ६८ हजार १८० मूल्य बराबरका पक्राउ गरेको हो ।

यस्तै प्रहरी चौकी सिर्सियाको टोलीले वीरगञ्ज– १७ अलौबाट ४ थान पाइन्ट, ४ थान सर्ट, १ बोरा प्याज, कुर्ता सुरवाल १४ पिस गरी जम्मा १ लाख १० हजार रुपैँया बराबरका सामानहरु बरामद गरेको प्रहरीको भनाइ छ ।

बरामद सामानसहित औषधी आवश्यक कारवाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनायो ।


सम्बन्धित समाचार