
१३ पुष, सेढवा (पर्सा) । हिउँदे बालीको लागि आवश्यक पानी नपर्दा किसानहरु चिन्तित् देखिएका छन् । पुष महिनाको दोस्रो सातासम्म पनि पानी नपर्दा बालीको वृद्धिविकास नहुने चिन्तामा किसानहरु देखिएका छन् ।
पर्साको ग्रामीण भेगका किसानहरुले हिउँदेबाली अन्तर्गत गहु, सुर्ती, तोरी, मसुरो, आलस, तथा राजमा लगायतका बाली लगाएका छन् । तर आवश्यकता अनुसार पानी नपर्न र हुस्सु समेत नलाग्दा बालीलाई नकारात्मक असर परेका किसानहरुले बताएका छन् ।
जिराभवानी गाँउपालिका वडा नं २ सेढवाका किसान अमृत चौधरीका अनुसार विगतका जाडो मौसममा हुस्सु लागेकै समयमा गहु बालीमा पहिलो सिचाई गरेको बताए । तर यसपाली चर्को घाम लागेको समयमै सिचाई गरेको बताउँछन् । अहिलेसम्म घाम लागिरहेका कारण जमिन खुकुलो भएर एक घण्टामा पनि एक कट्ठा दमकलले सिँचाई गर्न नसकेको किसान चौधरीको भनाई छ । पानी नपर्दा बालीको वृद्धिविकास रोकिएको उनको भनाई छ ।
ठोरी गाउँपालिका वडा नं.–४ बिजयबस्तीका किसान अर्जुन श्रेष्ठले हालसम्म पानी नपरेका कारणले सुर्ती र तोरी लगायत अन्य बालीको उत्पादनमा निकै कमी हुने बताए । अहिलेसम्म पानी नपरेर किसानहरुले पटक पटक सिँचाई गरेर भएपनि बाली जोगाईरहेको बताउँछन् ।
आकाशे पानीको पार्खाईमा किसानहरु बसिरहेको श्रेष्ठले बताए। यसैगरी हुस्सु लागेन र पानी परेन भने हिउँदे बालीको उत्पादनमा २० प्रतिशत कमी हुने श्रेष्ठको भनाई छ । यस सम्बन्धमा जिराभवानी गाँउपालिकाका कृषि शाखाका प्राविधिक क्षेत्रबहादुर गुप्ताले हिउँदे बालीको अर्थ नै हिउँद अर्थात शीतलहरमा हुने बाली रहेको बताए ।
यी बालीहरु चिसो र सिमसिमे पानीमा वृद्धिविकास तथा फस्टाउने गर्दछन । यस पाली पानी नपरेका कारण बालीहरु खासै राम्रो नहुने प्राविधिक गुप्ताले भनाई छ । अझै समय छ, जनवरीसम्म एकसाता पनि पानी पर्यो भने बाली सप्रिन सक्ने गुप्ताको भनाई छ ।