Logo

३ वैशाख,जनकपुर । सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) थमन विकको हत्या सम्बन्धी घटनामा मधेश प्रदेशका निलम्बित प्रदेश सभा सदस्य अभिराम शर्माको पेशी आज उच्च अदालत जनकपुरमा तोकिएको छ। अदालतमा परेको रिटको यो १८ औं पेशी हो।

बुधबार न्यायाधीश द्वय नरिश्वर भण्डारी र जगदीश घिमिरेको इजलाशमा शर्माको मुद्दाको सुनुवाइ हुनेछ। यसअघि पटक पटक पेशी तोकिए पनि विभिन्न कारणले स्थगित हुँदै आएको थियो।

जिल्ला अदालत महोत्तरीले जन्मकैदको सजाय सुनाएका निलम्बित प्रदेश सांसद शर्मासहित रामशंकर मिश्र, सुरेश पाण्डे र धमेन्द्र रायको मुद्दामा पनि आज पेशी तोकिएको छ। यसअघि १७ पटक पेशी तोकिएकोमा ९ पटक स्थगित भएको, ४ पटक हेर्न नभ्याइएको र ४ पटक विभिन्न आदेश जारी भएको थियो। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता शर्मा लगायतका अभियुक्तहरूको मुद्दा पटक पटक हेर्न नभ्याइने सूचीमा पर्दै आएको छ।

शर्माको हकमा उनका बुवा महेन्द्र शर्मा, मिश्रको हकमा उनकी श्रीमती संगीता कुमारी शर्मा, पाण्डेको हकमा उनकी छोरी प्रियंका पाण्डे र रायको हकमा उनका दाइ अरविन्द कुमार रायले उच्च अदालतमा पुनरावेदन दर्ता गराएका थिए।

२०७२ भदौ २५ गते दोस्रो मधेश आन्दोलनका क्रममा महोत्तरीमा असई विकलाई एम्बुलेन्सबाट थुतेर हत्या गरिएको थियो। यस घटनामा २८ जना विरुद्ध कर्तव्य ज्यान र २५ जना विरुद्ध आगजनीको मुद्दा दर्ता भएको थियो। महोत्तरी जिल्ला अदालतले २०८० मंसिर २८ गते नेकपा एमालेका संघीय सांसद लक्ष्मी महतो कोइरीलाई सफाइ दिए पनि अभिराम शर्मासहित सात जनालाई जन्मकैदको सजाय सुनाएको थियो।

जन्मकैदको सजाय पाउने अन्यमा प्रदीप साह, सञ्जयकुमार साह, मोहन ठाकुर, रामाशंकर मिश्र, सुरेन्द्र पाण्डे र धर्मेन्द्र राय रहेका छन्। मधेस प्रदेश सभाले २०८१ वैशाख १८ गते सांसद शर्मालाई निलम्बन गरेको थियो। आजको पेशीमा अदालतले के निर्णय गर्छ भन्ने चासो बढेको छ।


सम्बन्धित समाचार