
८ वैशाख, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपत्यका विकास प्राधिकरणका एक अमिनविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। जिल्ला आयुक्तको कार्यालय काठमाडौँअन्तर्गत बागमती नगर जग्गा एकीकरण आयोजना गौरीघाटमा अमिन (करार) पदमा कार्यरत दिनेश प्रसाद यादवविरुद्ध अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दामा आरोपपत्र दर्ता गरेको हो।
आयोगले प्राप्त उजुरीका आधारमा गरेको अनुसन्धानमा अमिन यादवले २०६३ भदौ ८ गतेदेखि २०८१ असार ३० गतेसम्ममा वैध आम्दानीको तुलनामा ३ करोड २९ लाख ४५ हजार ७ सय २ रुपैयाँ २१ पैसा बराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको ठहर गरेको छ।
अनुसन्धान अनुसार यादवले तलबी पारिश्रमिक, भत्ता, नागरिक लगानी कोष, आवास कर्जा, कृषि आम्दानी, सवारी र अचल सम्पत्ति बिक्री, सापटी तथा बैंकको ब्याजबाट कुल २ करोड ४२ लाख २० हजार ३०१ रुपैयाँ ३० पैसा वैध आय गरेको देखिएको छ। तर, सोही अवधिमा उनले घर निर्माण, गहना, जग्गा खरिद, सवारी साधन, शैक्षिक खर्च, ऋण सापटी, सामाजिक खर्च लगायतमा कुल ५ करोड ७१ लाख ६६ हजार ३ रुपैयाँ ५१ पैसा खर्च गरेको पाइएको छ।
आयोगका अनुसार यादवको आयभन्दा व्यय अत्यधिक देखिएको र सो गैरकानूनी रूपमा आर्जन गरेको सम्पत्ति पुष्टि भएको छ। त्यसैले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) अनुसार कसुर ठहर गर्दै दफा २०(२) बमोजिम सजाय माग गरिएको छ।
यसैगरी, गैरकानूनी सम्पत्तिबाट आर्जित रकम र त्यसबाट बढेको सम्पत्ति यादवले आफ्नी श्रीमती अमृता कुमारी यादवको नाममा राखेको देखिएकाले अमृता कुमारी यादवलाई पनि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ र अख्तियार ऐन, २०४८ को दफा २९ ‘ख’ बमोजिम प्रतिवादी बनाई सम्पत्ति जफतका लागि मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए।