
९ वैशाख,वीरगञ्ज । बाराको पचरौता नगरपालिकामा सार्वजनिक खरिद ऐन उल्लंघन गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ ।
आयोगका अनुसार पचरौता नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत श्याम प्रसाद यादव र लेखापाल हासिम मियाँ अंसारीले आर्थिक वर्ष २०७७/०७८ मा भएका दुईवटा ठेक्कामा अनियमितता गरेका छन् ।
ठेक्का नम्बर ०२/२०७७/७८ र ठेक्का नम्बर ०३/२०७७/७८ को बोलपत्र आह्वानको सूचना राष्ट्रियस्तरको दैनिक पत्रिकामा प्रकाशन गर्नुपर्नेमा उनीहरूले एसके मल्टीपर्पोज प्रालिका अध्यक्ष कमल कुमार उपाध्यायसँग मिलेमतो गरी नगरपालिकाको अभिलेखमा राख्ने प्रयोजनका लागि मात्र स्थानीय माव प्रभाव दैनिक पत्रिकामा एक प्रति सूचना प्रकाशित गरेको आरोप छ ।
आयोगले उक्त झुट्टा विवरणसहितको पत्रिकाको आधारमा एसके मल्टीपर्पोज प्रालि ३ लाख ५२ हजार ५ सय ६० भुक्तानी दिएको पुष्टि गरेको जनाएको छ । यस कार्यमा संलग्न यादव र अंसारीले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ड) बमोजिम कसूर गरेको ठहर गर्दै उनीहरूबाट बिगो असुलउपर गरी कैद र जरिवानाको मागदाबी गरिएको छ ।
त्यसैगरी, एसके मल्टीपर्पोज प्रालि र कम्पनीका अध्यक्ष कमल कुमार उपाध्यायले राष्ट्रियस्तरको पत्रिकामा सूचना प्रकाशन नगरी ठेक्काको प्रयोजनका लागि मात्र स्थानीय पत्रिकामा सूचना प्रकाशित गरी गैरकानूनी लाभ लिएको पुष्टि भएको आयोगले जनाएको छ ।
उनीहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिमको कसूरमा मतियार भएको आरोप लगाउँदै सोही ऐनको दफा २२ बमोजिम मुख्य कसूरदारसरह सजाय र बिगो असुलउपरको मागदाबीसहित आरोपपत्र दायर गरिएको छ ।