Logo

११ वैशाख,सर्लाही । सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरतकुमार थापाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पुनः मुद्दा दर्ता गरेको छ । बिहीबार विशेष अदालतमा थापाविरुद्ध तेस्रो मुद्दा दर्ता भएको हो ।

यसअघि २०८० चैत २८ गते र २०८१ जेठ २९ गते गरी दुई पटक फरक फरक अभियोग पत्र दायर गर्दै अख्तियारले थापामाथि ३५ करोड ३० लाख रुपैयाँभन्दा बढी भ्रष्टाचार गरेको आरोप लगाएको थियो ।

बिहीबार दर्ता भएको तेस्रो मुद्दामा अख्तियारले थापासहित उपप्रमुख लिलाकुमारी मोक्तान, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेल, योजना शाखा प्रमुख सागर पौडेल, लेखा अधिकृत विश्वराज पोखरेल र जिल्ला समन्वय समिति सर्लाहीका तत्कालीन प्रमुख मेथुर चौधरीलाई प्रतिवादी बनाएको छ ।

उनीहरुविरुद्ध वन अतिक्रमण, ताल निर्माण र ढुङ्गा–गिट्टी–बालुवा–माटो उत्खनन गरी हानीनोक्सानी गरेको आरोप लगाइएको छ । अख्तियारले ४ लाख ७० हजार २८५ घनमिटर वन पैदावार उत्खनन् गरी बिक्री वितरण तथा अन्य संरचनामा प्रयोग गरेको आरोपमा उनीहरुविरुद्ध ५ वर्षसम्म कैद सजायको मागदाबी गरेको छ ।

यसअघि अख्तियारले निलम्बित मेयर थापाविरुद्ध दायर गरेका दुई मुद्दामा विशेष अदालतले गत वैशाख ७ गते थप प्रमाण बुझ्ने आदेश दिएको थियो ।


सम्बन्धित समाचार