Logo

१६ वैशाख,वीरगञ्ज । उच्च सरकारी वकिल कार्यालय वीरगञ्जले वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ स्थित साबिकको वीरगन्ज चिनी कारखानाको कित्ता नम्बर १३२३ को जग्गामा रहेका घरटहराहरू खाली गर्न ३५ दिने सार्वजनिक सूचना जारी गरेको छ।

कार्यालयका सहन्यायाधिवक्ता कोष हरि निरौलाद्वारा जारी सूचनामा नेपाल सरकार, मन्त्रिपरिषदको २०७९ वैशाख २५ गतेको निर्णय अनुसार उक्त जग्गा उच्च सरकारी वकिल कार्यालय, वीरगन्ज र मातहतको जिल्ला सरकारी वकिल कार्यालय, पर्साको संयुक्त नाममा हस्तान्तरण भएको उल्लेख छ।

सूचनामा भनिएको छ, “उक्त जग्गामा रहेका घरटहराहरूमा हाल पनि केही व्यक्तिहरू बसोबास गरिरहेको देखिएको र कार्यालय भवन निर्माणका लागि संरचनात्मक डिजाइन, नक्सा र लागत अनुमान तयारीको प्रक्रिया तत्काल सुरु गर्नुपर्ने भएकाले यी घरटहराहरू हटाउन आवश्यक छ।“

कार्यालयले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र घरटहरा खाली गरी सहयोग गर्न सम्बन्धित सबैलाई आग्रह गरेको छ। अन्यथा, कानून बमोजिम थप कारबाही गरी जग्गा खाली गराइने चेतावनी पनि दिइएको छ।

तत्कालिन वीरगञ्ज चिनी कारखाना हाल खारेज भइसकेको छ। साबिकको मजडिहा पिप्रा वडा नम्बर २ स्थित कित्ता नम्बर ११३१ हाल वीरगन्ज महानगरपालिका वडा नम्बर १४ अन्तर्गत कित्ता नम्बर १३२३ कायम भएको सूचनामा उल्लेख छ।


सम्बन्धित समाचार