
१६ वैशाख,हेटौंडा । सडक डिभिजन कार्यालय हेटौंडाले त्रिभूवन राजपथ र महेन्द्र राजपथको सीमाङ्कन गरिदिन नापी कार्यालय हेटौंडालाई औपचारिक पत्र पठाएको छ । कार्यालयले रातमाटेदेखि बुद्धचोकसम्मको त्रिभूवन राजपथ र बुद्धचोकदेखि राप्तीपुलसम्मको महेन्द्र राजपथको २५/२५ गज सडक सीमा नापजाँच गर्नका लागि बैशाख ११ गते नै पत्राचार गरेको डिभिजन प्रमुख गुरु प्रसाद अधिकारीले जानकारी दिनुभयो ।
सडक सीमा नापजाँच गरी सरकारी सम्पत्ति संरक्षण गर्ने कार्यमा सहयोग गर्न कार्यालयले नापी कार्यालयलाई आग्रह गरेको छ । डिभिजन प्रमुख अधिकारीका अनुसार सडक सीमा २५/२५ गज कायम गरी संरक्षण गर्ने र सर्वोच्च अदालतले विभिन्न मितिमा गरेका फैसलाहरूको कार्यान्वयन गर्ने उद्देश्यले यो प्रक्रिया अगाडि बढाइएको हो ।
उल्लेखनीय छ कि सर्वोच्च अदालतले २०८१ फाल्गुन २८ गते वीरगञ्जको मुख्य सडक विस्तार गर्ने विरुद्ध परेको पाँच वटा रिट खारेज गरेको थियो । न्यायाधीश विनोद शर्मा र महेश शर्मा पौडेलको संयुक्त इजलासले उक्त फैसला गरेसँगै त्रिभूवन राजपथको दायाँबायाँ २५/२५ मिटर चौडा गर्ने बाटो खुलेको छ । सडक डिभिजन कार्यालय हेटौंडाको यो कदम सोही फैसला कार्यान्वयनको दिशामा महत्वपूर्ण मानिएको छ ।