
१७ वैशाख, काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई प्रहरीले प्रज्ञा भवन परिसरबाट पक्राउ गरी डिल्लीबजार कारागारमा चलान गरेको छ। नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीच एकता घोषणाको तयारी भइरहेको बेला यो घटना भएको हो।
टीकापुर घटनामा जन्मकैदको सजाय भोगिरहेका चौधरीलाई गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएपछि २०८० जेठ १५ गते रिहा भएका थिए। तर, टीकापुर घटनामा मारिएका सशस्त्र प्रहरी निरीक्षक केशव बोहोराकी श्रीमती शारदा कडायतले आममाफीविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेकी थिइन्।
प्रहरी स्रोतका अनुसार, चौधरीको पुरानो मुद्दामा कैद भुक्तान हुन बाँकी रहेकाले अदालतको आदेश अनुसार उनलाई पक्राउ गरिएको हो। नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीचको एकता घोषणा कार्यक्रम पनि चौधरीको पक्राउपछि स्थगित भएको छ। जनमत पार्टीले चौधरीको पक्राउको भर्त्सना गरेको छ।