Logo

५ जेठ,काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीको ध्यान सरकार ढलाउनेतिर नभएको बताएका छन् ।

सरकार बनाउनेतर्फ पनि पार्टीले ध्यान नदिएको उनले बताए। जनतासँग माओवादी (मध्यपहाडी लोकमार्ग) जनता जागरण अभियानअन्तर्गत आज दैलेखमा आयोजित सभामा अध्यक्ष दाहालले सरकार गलत बाटोमा हिँडेको आरोप लगाउँदै आफ्नो पार्टीले सुरु गरेका कामलाई समेत भत्काएको उल्लेख गरे। यसबारे निरन्तर खबरदारी गरिरहेको उनको भनाइ थियो ।

“बजेटअगाडि यो अभियान सकेर हामी यहाँका जनताका माग र आवश्यकता सरकारसमक्ष राख्न चाहन्छौँ”, प्रचण्डले भने, “तराई, मध्यपहाड र हिमाली क्षेत्रका बासिन्दाका माग सम्बोधन गर्न सरकारलाई आग्रह गर्दैआएको छु।”

तराई मधेश जागरण अभियान सफल भएको उल्लेख गर्दै उनले मध्यपहाडी लोक मार्ग यात्रा पनि सफल हुने बताए। मधेश आन्दोलन समाधानदेखि संविधान कार्यान्वयनसम्म माओवादी केन्द्रको भूमिका ऐतिहासिक रहेको उल्लेख गर्दै अध्यक्ष दाहालले वर्तमान सत्तालाई जनमुखी बनाउन पहल गरिने बताए ।

मध्यपहाडी लोकमार्गको प्रस्ताव आफू प्रधानमन्त्री हुँदा राखेको र यो मध्यपहाड तथा हिमालमा बस्ने जनताको हितलाई विचार गरेर प्रस्ताव गरिएको बताए। मध्यपहाड र हिमाली क्षेत्रमा भएको बसाइँसराइ रोक्न सकिन्छ कि भनेर लोकमार्गको प्रस्ताव अघि बढाएको प्रचण्डले बताए। माओवादी केन्द्रलाई जनताले सत्तामा पुर्‍याएको उनले बताए। प्रचण्डले भने, “जनताले तीनपटक सरकारको नेतृत्व गर्ने ठाउँमा पुर्‍याए ।”

उनले जनताका पीरमर्का बुझेर तिनलाई सम्बोधनको प्रयास गरिने बताए। सबै समुदायसँग संवाद गर्दै जनताको आवाज सरकारसमक्ष पुर्‍याउने लक्ष्य लिएको उनको भनाइ थियो। दैलेख ऐतिहासिक, सांस्कृतिक, आर्थिक, प्राकृतिक, विभिन्न जातजातिको उद्गम थलो भएको उल्लेख गर्दै उनले बसाइँसराइ रोक्न शिक्षा, स्वास्थ्य, कृषि, जडीबुटी तथा पर्यटन क्षेत्रमैत्री नीति आवश्यक रहेकामा जोड दिए ।

पेट्रोलियम पदार्थ उत्खननमा आफ्नो पार्टीले उल्लेखनीय भूमिका निर्वाह गर्ने अध्यक्ष दाहालले बताए ।

कार्यक्रममा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षहरू नन्दकिशोर पुन, अग्नि सापकोटा र पम्फा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिव जनार्दन शर्मा, कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाही, पार्टीको कर्णाली प्रदेश इन्चार्ज कालीबहादुर मल्ललगायतका नेताहरू उपस्थित थिए ।


सम्बन्धित समाचार