
१६ जेठ,काठमाडौं । नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा नआएसम्म संसदको अवरोध जारी राख्ने निर्णय गरेको छ। खुमलटारमा आज बसेको पदाधिकारी बैठकले गृहमन्त्रीले छानबिनका लागि राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको माओवादी केन्द्रका सचिव लीलामणि पोखरेलले बताए।
“हामीले यो विषय उठाइसकेका छौं। अब अन्य दलको पनि साथ लिएर गृहमन्त्रीको राजीनामा नआएसम्म सदनमा सशक्त भूमिका खेल्नुपर्छ भन्ने निष्कर्षमा पुगेका छौं,“ बैठकपछि पोखरेलले भने।
हिजो संवैधानिक बाध्यताका कारण बजेट पेश गर्नका लागि संसद अवरोध नगरेको भएपनि अब संसद चल्न नदिने माओवादी केन्द्रको अडान छ।
तर, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) र सत्तारुढ दल नेपाली कांग्रेसका शीर्ष नेताहरूले भने गृहमन्त्रीको राजीनामा असम्भव रहेको बताउँदै आएका छन्। यसले गर्दा संसदमा थप गतिरोध बढ्ने सम्भावना देखिएको छ।