
१६ जेठ, काठमाडौं — केही दिनअघि मात्रै जेलमुक्त भएका नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमलाई मस्तिष्काघात (ब्रेन स्ट्रोक) भएको छ।
शुक्रबार बिहान करिब ७ बजे उनलाई मस्तिष्काघात भएको र करिब १०.३० बजे काठमाडौँ माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा भर्ना गरिएको अस्पताल स्रोतले जनाएको छ। हाल उनलाई अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार भइरहेको छ।
अस्पतालका एक चिकित्सकका अनुसार नेता आलम दीर्घकालदेखि उच्च रक्तचाप (हाइपरटेन्सन) र मधुमेह (डायबिटिज) लगायत रोगका औषधि सेवन गर्दै आएका थिए। मस्तिष्काघातको कारण उनी एकाएक अचेत जस्तो अवस्थामा पुगेका थिए।
नेता आलमलाई केही दिनअघि मात्र रौतहट विस्फोट घटनामा जेल जीवन बिताएपछि उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जको आदेशमा रिहा भएका थिए ।
उनको स्वास्थ्यस्थितिमा सुधार हुदै गएको र आईसीयूमा उपचार भइरहेको अन्नपूर्ण अस्पतालले जनाएको छ ।