
१७ जेठ,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एकजना कर्मचारीमाथि प्रश्न उठेकै भरमा प्रतिपक्षी दलले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्नु ’निराधार र अनुचित’ भएको बताएका छन्। कान्तिपुर मिडिया ग्रुपद्वारा आज आयोजित ’हाफ म्याराथन’ को शुभारम्भपछि आयोजित छलफलमा प्रधानमन्त्री ओलीले गृहमन्त्री लेखकमाथि कुनै आरोप नलागेको र कुनै निकायले छानबिन नगरेको अवस्थामा प्रतिपक्षी दलले ’असम्भव माग’ राखेर सदन अवरोध गर्न नहुने स्पष्ट पारे।
“म प्रतिपक्षको बोल्ने र माग राख्न पाउने अधिकारको सम्मान गर्छु तर माग राख्दा वा विरोध गर्दा आधार चाहीँ चाहिन्छ,“ प्रधानमन्त्री ओलीले भने। उनले गृह मन्त्रालयमातहतका धेरै कर्मचारीमध्ये एकजनालाई अख्तियारले बोलाएको मात्रै सन्दर्भमा गृहमन्त्रीको राजीनामा मागिनु अस्वाभाविक भएको बताए। विगतमा तत्कालीन गृहमन्त्रीको राजीनामा मागिँदा उहाँमाथि गृहमातहतको सिआइबीले छानबिन गरिरहेको सन्दर्भ उल्लेख गर्दै, अहिले त्यस्तो अवस्था नरहेकोले यो ’विरोध गर्न निहुँ नपाएर निहुँ खोजिएको’ मात्रै भएको उनको भनाइ थियो। उनले ३५ किलो सुन ओसारिएको जस्तो अवस्था नभएको स्पष्ट पारे।
प्रधानमन्त्री ओलीले प्रतिपक्षीको मागलाई बच्चाहरूले सक्कली हात्तीलाई झोलामा हाल्न खोजेको जस्तो असम्भव रहेको भन्दै तुलना गरे। उनले कुनै पार्टीभित्रका समस्यालाई घरभित्रै समाधान गर्न र बाहिर आएर छिमेकीलाई असर पुग्ने गरी विरोध नगर्न आग्रह गरे।
संसद्मा प्रस्तुत बजेटका सन्दर्भमा कान्तिपुरका सम्पादकबाट सोधिएको प्रश्नमा प्रधानमन्त्री ओलीले यसपटकको बजेट यथार्थपरक र सम्भव हुने हिसाबले आएको जवाफ दिए। “हामीलाई त्यसै पपुलिष्ट हुनु छैन। राम्रा काम गर्नु छ। यथार्थभन्दा बाहिर गएर बजेट ल्याउनु भनेको अर्थतन्त्रलाई विनासको बाटोमा लाग्नु हो,“ उनले भने। उनले गत वर्षको बजेटमा सात हजार आयोजनालाई बिना आधार बढाइएको र माइनस २४ प्रतिशतमा रहेको राजस्वलाई बढाएर ३० प्रतिशतमा लाने भन्ने ’निराधार प्रक्षेपण’ गरिएकोमा यसपटक त्यस्तो नगरिएको बताए। “हामीले पहिला पूर्वाधार विकासमा जोड दियौं। पूर्वाधार विकासमा धेरै काम भएकाले अब सामाजिक सुरक्षा, सुशासन र विकासमा ध्यान दिएका छौं,“ उनले थपे।