
२७ जेठ, काठमाडौं । काठमाडौंको टोखास्थित ग्राण्डी अस्पताल नजिकै लागुऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरको टोलीले गोली चलाएर चार जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ। प्रहरीले उनीहरूको पूरा परिचय भने सार्वजनिक गरेको छैन।
ब्यूरोका प्रमुख तथा एसएसपी कृष्ण कोइरालाले चार जना व्यक्तिलाई नियन्त्रणमा लिइएको पुष्टि गर्दै उनीहरू भारतीय नागरिक भएको प्रारम्भिक जानकारी प्राप्त भएको बताए। “चार जना नियन्त्रणमा छन्। भारतीय नागरिक भन्ने बुझिएको छ। कार्यालयमा ल्याइनसकेकाले थप विवरण बताउन सक्ने अवस्था छैन,” एसएसपी कोइरालाले भने।
प्राप्त जानकारी अनुसार, लागुऔषध कारोबारको सूचना पाएपछि ब्यूरोका इन्स्पेक्टर राकेश यादव र वरिष्ठ सई बालकृष्ण सञ्जेलसहितको टोली टोखा पुगेको थियो। सो क्रममा प्रहरीमाथि नै आक्रमण भएपछि अवस्था नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो। गोली प्रहारपछि दुई जना र थप अरु दुई गरी चार जनालाई नियन्त्रणमा लिइएको हो।
नियन्त्रणमा लिइएका व्यक्तिहरूको साथबाट १५० ग्रामभन्दा बढी ब्राउन सुगर पनि बरामद गरिएको प्रहरीले जनाएको छ।
यस घटनामा लागुऔषध कारोबारीको आक्रमणबाट दुई प्रहरी रवीन्द्र केसी र नवराज घिसिङ पनि घाइते भएका छन्। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यो पनि पढ्नुहोस
काठमाडौंको टोखामा प्रहरीले चलायो गोली, दुई जना लागुऔषध कारोबारी पक्राउ