
२८ जेठ, काठमाडौं । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामाको माग असान्दर्भिक भएको बताएका छन्। उनले गृहमन्त्रीको राजीनामाविना नै संसद्को अवरोध हट्ने विश्वास व्यक्त गरे।
बुधबार मन्त्रालयमा आयोजित मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने पत्रकार सम्मेलनमा सञ्चारमन्त्री गुरुङले बुधबार या बिहीबारसम्म संसद् अवरोध हट्ने जानकारी दिए। उनले भने, “अख्तियारले एउटा कर्मचारीमाथि छानबिन शुरू गरेको हो, एक जना कर्मचारीमाथि छानबिन चल्दै गर्दा मन्त्रीले राजीनामा दिँदै जाने हो भने सरकार चल्दैन मैले पहिले पनि भनेको थिएँ।” मन्त्री गुरुङले गृहमन्त्रीको राजीनामाको प्रश्नै नउठ्ने र हाल संसद्मा देखिएको गतिरोध आजभोलिमै सहमतिमा टुङ्गिने स्पष्ट पारे।
भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय छानबिन समिति बनाउने विषयमा दलहरूबीच सहमति भइसकेको उनले बताए। “आज या भोलिसम्ममा कुरा मिल्छ भन्ने लाग्छ,” गुरुङले थपे।
स्मरण रहोस्, भिजिट भिसा प्रकरणमा गृहमन्त्रालयका एक जना सहसचिव पक्राउ परेपछि गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षी दलहरूले जेठ १३ गतेदेखि प्रतिनिधिसभा बैठक अवरुद्ध गर्दै आएका छन्। विपक्षीको अवरोधका कारण पटक–पटक स्थगित हुँदै आएको प्रतिनिधिसभा बैठक बुधबारका लागि बोलाइएको छ।