
२८ जेठ,काठमाडौं । जिल्ला अदालत काठमाडौंले नेपालखबर डटकम र विजमान्डु डटकम अनलाइनमा प्रकाशित समाचारका विषयमा जारी गरेको अल्पकालीन अन्तरिम आदेशप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। महासंघले उक्त आदेश प्रेस स्वतन्त्रतासम्बन्धी अन्तर्राष्ट्रिय मूल्यमान्यता र नेपालको संविधान २०७२ को मर्म विपरीत भएको ठहर गरेको छ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश पीताम्बर शर्माको एकल इजलासले नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले दर्ता गरेको रिट निवेदनउपर सुनुवाइ गर्दै, ‘निवेदकलाई अपूरणीय क्षति र सुविधा सन्तुलनसमेतको दृष्टिकोणबाट विपक्षीहरूलाई आफ्नो वेबसाइट, अनलाइन वा अन्य माध्यमबाट अप्रमाणित, तथ्यहीन समाचारहरू प्रकाशन, प्रसारण नगर्नु, नगराउनु, प्रकाशित भएका समाचारहरू अनलाइनबाट तुरुन्त हटाउनु, हटाउन लगाउनु’ भनी अल्पकालीन अन्तरिम आदेश दिएको थियो।
महासंघका महासचिव रामप्रसाद दाहालद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘सञ्चारमाध्यममा प्रकाशित प्रसारित समाचारका विषयमा चित्त नबुझेको अवस्थामा पीडितको उज्री लिने र त्यसविरुद्ध कारबाही गर्ने प्रेस काउन्सिल नेपालको क्षेत्राधिकारको विषय हो। काउन्सिलको क्षेत्राधिकारलाई नजरअन्दाज गर्दै अदालतबाट भएको यो आदेश प्रेस स्वतन्त्रतासम्बन्धी अन्तर्राष्ट्रिय मूल्यमान्यता, नेपालको संविधान २०७२ का व्यवस्था र मर्म विपरीत भएको महासंघको ठहर छ।
संविधानले प्रस्तावनामै पूर्ण प्रेस स्वतन्त्रताु को प्रत्याभूत गरेको उल्लेख गर्दै महासंघले प्रेस स्वतन्त्रताको यो संवैधानिक व्यवस्थालाई कुनै पनि निकायको आदेशले सीमित गर्न नसक्ने बताएको छ।
‘लोकतन्त्रमा न्यायालयको निर्णय पालना हुनुपर्छ भन्ने महासंघ दृढ छ र सम्मान समेत गर्दछ,ू विज्ञप्तिमा भनिएको छ,तर, अदालतको यो आदेश नेपालको संविधानका व्यवस्था र मर्म, प्रेस स्वतन्त्रताको प्रचलित मान्यता र अभ्यासविपरीत भएकाले यसप्रति महासंघ आपत्ति प्रकट गर्दछ।’
महासंघले उक्त आदेशप्रति पुनर्विचार गर्न सम्बन्धित निकायसँग आग्रह गर्दै अन्यथा त्यसविरुद्ध अदालती प्रक्रिया तथा अन्य गतिविधि गर्न बाध्य हुने प्रष्ट पारेको छ।
साथै, महासंघले सञ्चारमाध्यमलाई पनि पत्रकार आचारसंहिताको पूर्ण पालना गर्न आग्रह गरेको छ। सञ्चारमाध्यममा प्रकाशित सामग्रीको सन्दर्भमा त्यसको सम्पूर्ण जिम्मेवारी तथा त्यो सामग्रीमा कुनै प्रश्न उठेमा त्यसको सत्य तथ्य पुष्टि गर्ने दायित्व सम्बन्धित सञ्चारमाध्यमकै हुने महासंघले स्मरण गराएको छ।
यद्यपि पत्रकार दीलभूषण पाठक विरुद्ध जारी गरिएको पक्राउ पूर्जीको विषयमा भने पत्रकार महासंघले केही बोलेको छ । पत्रकार आचार संहितामा रहेर समाचार सम्प्रेषण गर्ने पत्रकार विरुद्ध साईबर क्राईम कानून आकर्षित गर्दै पक्राउ पूर्जी जारी गर्दा पनि पत्रकार महासंघले यस विषयमा केही नबोल्नुले महासंघको नियतमाथि प्रति प्रश्न उठेको छ । पत्रकारहरुको छाता संगठन पत्रकार महासंघमा स्वतत्रन्त्र पत्रकारिता गर्ने पत्रकारहरुमाथि हुने यस्ता अन्याय विरुद्ध पत्रकार महासंघ लड्नुपर्नेमा त्यसविषयमा केहीपनि बोलेको छैन ।