
२८ जेठ, काठमाडौं । प्रेस चौतारी नेपालले समाचार हटाउन अदालतले दिएको आदेश र पत्रकार दिलभूषण पाठकमाथि जारी गरिएको पक्राउ पुर्जीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
चौतारीका महासचिव हिरामान लामाले एक विज्ञप्ति जारी गर्दै प्रकाशित वा प्रसारित सामग्रीप्रतिको असन्तुष्टि वा विवाद निरूपण तथा मूल्यांकन गर्ने संवैधानिक एवं कानूनी अधिकार प्रेस काउन्सिल नेपालमा निहित रहेको स्पष्ट पारेका छन्।
विज्ञप्तिमा भनिएको छ, “संविधानको रक्षा गर्ने जिम्मेवारी सम्मानित अदालतको भन्नेमा हामी प्रष्ट छौं। सम्मानित अदालतले प्रारम्भिक आदेशको पुनरावलोकन गर्दै संविधान र विधिको मर्मअनुरूप सुधार गर्नेछ।” चौतारीले साइबर ब्युरोलाई समेत पत्रकार पाठकमाथि जारी गरिएको पक्राउ पुर्जी तत्काल खारेज गरी प्रेस स्वतन्त्रताप्रति प्रतिबद्धता दर्शाउन आग्रह गरेको छ।
प्रेस चौतारीले अदालत र सम्बन्धित निकायबाट प्रेस स्वतन्त्रताको सम्मान हुनेमा विश्वास व्यक्त गरेको छ।