
२८ जेठ काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले केन्द्रीय समितिमा संकुचन हटाएको छ ।
माओवादीको जेठ १२ गते बसेको पदाधिकारी बैठकले थप १० प्रतिशत मात्रै केन्द्रीय सदस्य मनोनयन विधानको व्यवस्थालाई निष्क्रिय पार्ने निर्णय गरेको हो । माओवादीले अब जति पनि सदस्य थप्ने बाटो खोलेको छ ।
यसअघि माओवादीको विधानमा पार्टी एकता वा समायोजन हुँदा सम्बन्धित समितिको कुल सदस्य संख्याको १० प्रतिशतसम्म मात्रै थप्ने व्यवस्था थियो । तर, माओवादीले पदाधिकारी बैठकपछि जारी गरिएको परिपत्रमा हाललाई उक्त प्रावधानलाई तत्काल निष्क्रिय बनाउने उल्लेख छ ।
पार्टी विधानको प्रावधान अनुसार पार्टी एकता वा समायोजन हुँदा सम्बन्धित समितिको कुल सदस्य संख्याको १० प्रतिशतसम्म समायोजन गर्न सकिने प्रावधान रहेकोमा पार्टी एकता, समायोजन र ध्रुविकरणको आवश्यकता र महत्वलाई ध्यानमा राखी आगामी केन्द्रीय समितिको बैठक र महाधिवेशनप्रति जवाफदेही हुने गरी उक्त प्रावधानलाई तत्काल निस्क्रिय बनाउने महासचिव देव गुरूङले जारी गरेको परिपत्रमा भनिएको छ ।
माओवादीमा अहिले ४०८ जना केन्द्रीय सदस्य छन् । विधानको व्यवस्था अनुसार अब ४० जनाभन्दा बढी थप्न पाइने थिएन । परिपत्रपछि अब केन्द्रीय सदस्य जति पनि बनाउने बाटो खुलेको माओवादी केन्द्रले जनाएको छ ।