
७ असार, पोखरा । भारतबाट अवैध रुपमा तयार पारिएका सुनचाँदीका गरगहना नेपाल भित्र्याई बिक्री गर्न खोज्ने दुई जनालाई पोखरामा पक्राउ गरिएको छ। कास्की प्रहरीले पोखरा–२२, पुम्दी क्षेत्रबाट ८२ तोला बढी सुनचाँदीका गरगहना सहित दुई जनालाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा भारत पञ्जाबको अमृतसर–१, न्यू प्रताप नगर जिटी रोडका ४९ वर्षीय कुलदीप सिंह र तिलोत्तमा नगरपालिका–१६, पूर्वबहियाका ४७ वर्षीय रामबहादुर विक रहेका छन्।
कास्की प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाका अनुसार, दुवै जना पेशाले सुनचाँदीका गरगहना बनाउने कालिगड हुन्। सिंहले भारतमै गहना निर्माण गर्दै आएका थिए भने विकले नेपालमा उनलाई नेपाली बजारसम्म ल्याउन र बिक्री गर्न सघाउँदै आएका थिए।
प्रहरीका अनुसार, भारतबाट ल्याइएका गरगहना पोखराका विभिन्न सुनचाँदी पसलमा बिक्री गर्न खोज्दा सफल नभएपछि उनीहरू बुटवलमा बिक्री गर्ने योजनासहित जाँदै गर्दा पक्राउ परेका हुन्।
उनीहरूको साथबाट बरामद गरगहनाको मूल्य असार ६ गतेको बजार मूल्यअनुसार करिब १ करोड ३० लाख रुपैयाँ बराबर रहेको छ। सिंहले भारतको अमृतसरस्थित अमरजित साहुको सुन पसलबाट गहना ल्याउने गरेको खुलेको छ।
प्रारम्भिक अनुसन्धानमा सिंह र विक फेसबुकमार्फत तीन वर्षअघिदेखि सम्पर्कमा रहेको र नेपालमा अवैध सुन व्यापारमा मिलेमतो रहेको देखिएको प्रहरीको भनाइ छ। सिंह भारतका विभिन्न सहर—उत्तर प्रदेश, गोरखपुर, बिहार, उडिसा, दिल्ली र हरियाणामा पनि गहना बेच्ने गरेको खुलेको छ।
उनीहरूलाई आवश्यक कारबाही तथा थप अनुसन्धानका लागि राजश्व अनुसन्धान विभाग काठमाडौं वा राजस्व अनुसन्धान कार्यालय बुटवलमा पठाइने तयारी भइरहेको एसपी ओलियाले जानकारी दिए।
गरगहना बिक्री गर्न आएका उनीहरूलाई पक्राउ गर्न पोखराका स्थानीय सुनचाँदी व्यवसायीहरूले प्रहरीलाई सहकार्य गरेको बताइएको छ। प्रहरी अब यस घटनासँग जोडिएका अन्य सम्भावित व्यक्तिहरुको खोजी तथा अनुसन्धानमा जुटेको छ।