Logo

८ असार, वीरगञ्ज । पर्सा जिल्लाको सखुवाप्रसौनी गाउँपालिका अन्तर्गत महुवन नजिकै पटनी चौकमा गएराति भएको भीषण सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ भने अन्य दुईजना गम्भीर घाइते भएका छन् । वीरगञ्ज–गण्डक मार्ग हुँदै जगरनाथपुर–इनर्वा सडक खण्डमा राति करिब ९ बजे जिप र मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनापछि दुवै सवारीसाधन निर्माणाधीन नालीमा खस्दै आगलागी भएको थियो । आगोले जिप पूर्णरूपमा क्षतिग्रस्त भएको छ भने मोटरसाइकलमा सवारमध्ये एक जनाको घटनास्थलमै मृत्यु भएको प्रत्यक्षदर्शीले बताएका छन्। तर आधिकारिक पूष्टि बाकि छ । अर्का घाइतेको खुट्टा भाँचिएको छ र टाउकोमा गम्भीर चोट लागेको छ।

जीप र मोटरसाईकल पुर्णरुपमा जलिसकेको कारण नम्बर खुल्न सकेको छैन । जिपमा सवार चालक र एक यात्रु भने अझैसम्म सम्पर्कविहीन छन् र उनीहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

घटनाको जानकारी पाउने बित्तिकै सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव स्वयं एम्बुलेन्स लिएर घटनास्थलमा पुगेका थिए । उनले घाइतेहरूको उद्धार गरी उपचारका लागि तत्काल वीरगञ्जको नारायणी अस्पतालममा पुर्‍याएको स्थानीयले बताएका छन् । अध्यक्ष यादवको यो कार्यले स्थानीय स्तरमा जनप्रतिनिधिको सक्रियता र मानवताकाे अनुपम उदाहरण प्रस्तुत गरेको छ।

दुर्घटनापछि तत्कालै बारुण यन्त्र घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिएको थियो । प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको छ।

भिडियो :


सम्बन्धित समाचार