
१३ असार, काठमाडौँ। प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले निजी विद्यालयको सञ्चालन स्वरूपबारे महत्त्वपूर्ण निर्णय गरेको छ।
समितिका सभापति अम्मरबहादुर थापाले पेस गरेको प्रस्ताव बैठकले पारित गरेसँगै अब निजी विद्यालयहरूलाई सेवामूलक, लोककल्याणकारी र गैरनाफामूलक बनाएर सञ्चालन गरिने भएको छ। विद्यालय शिक्षा विधेयकमा अब निजी विद्यालयहरूलाई कम्पनीमार्फत वा गुठीमा जान सक्ने व्यवस्था गरिनेछ। यो प्रावधान सर्वसम्मतिबाट पारित भएको हो, जसको अर्थ निजी विद्यालयहरूलाई नाफामुखी भन्दा सेवामुखी बनाउने दिशामा सरकार अघि बढेको छ।
गुठीमा जानेलाई सहुलियत
बैठकले गुठीमार्फत सञ्चालन हुने निजी विद्यालयहरूको हकमा विभिन्न सहुलियत दिने प्रस्ताव पनि पारित गरेको छ। यसअघि यस विषयमा छलफल भएको थियो, जसमा जग्गा रजिस्ट्रेसन दस्तुर, सवारीसाधन आयातमा भन्सार महसुल, र शैक्षिक सामग्री आयातमा छुट दिने लगायतका विषयहरू समावेश थिए। यसले निजी विद्यालयहरूलाई गुठीमा रूपान्तरण हुन प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ।