
१३ असार, काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गेट नजिकै रहेको एउटा होटलबाट सशस्त्र प्रहरीले ४७ ग्राम ९ मिलिग्राम ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा सिरहा जिल्लाको सिरहा नगरपालिका(८ का ४० वर्षीय मोहम्मद अख्तर मिया र धनुषा जिल्लाको कमला नगरपालिका(८ का ४२ वर्षीय सामन यादव रहेका छन्।
सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरोको विशेष सूचनाका आधारमा उनीहरूलाई दर्शन नमस्ते इन होटलबाट ब्राउनसुगर किनबेचको तयारी गरिरहेको अवस्थामा नियन्त्रणमा लिइएको हो। प्रहरीले उनीहरूको साथबाट ४७ ग्राम ९ मिलिग्राम ब्राउनसुगर, एक थान तराजु, तीन थान मोबाइल, दुई वटा राहदानी र १२ हजार १७५ रुपैयाँ नगद समेत बरामद गरेको छ।
प्रारम्भिक अनुसन्धानबाट उनीहरूले लामो समयदेखि धनुषाका विभिन्न ठाउँबाट लागुऔषध काठमाडौं ल्याएर बेचबिखन गर्दै आएको खुलेको छ। पक्राउ परेका दुवै जनालाई बरामद लागुऔषधसहित आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अगाडि बढेको सशस्त्र प्रहरीले जनाएको छ।