
१४ असार, वीरगञ्ज । भारतबाट चोरी पैठारी भई भन्सार छली गरिएका करिब ६ लाख ३९ हजार ६ सय रुपैयाँ बराबरका सामानहरू सशस्त्र प्रहरी बल, नेपाल पर्साले बरामद गरी वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको छ।
सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय, पर्साबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका–१, छप्कैयाबाट लुकाई छिपाई राखिएको ३ लाख ४० हजार ८ सय रुपैयाँ बराबरको कपडा र छोकडा नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिइएको सामान वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ।
यसैगरी, आजकै मितिमा सशस्त्र प्रहरी बल नेपाल, बीओपी सिर्सियाबाट खटिएको टोलीले छपकैयाबाट भन्सार छली गरी ल्याइँदै गरेको २ लाख ४२ हजार रुपैयाँ बराबरको छालाको जुत्ता र सो कार्यमा प्रयोग भएको मोटरसाइकल समेत नियन्त्रणमा लिई भन्सार कार्यालयमा बुझाएको छ।
विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल, प्राविधिक सुरक्षा गुल्म वीरगञ्ज र वीरगञ्ज भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले वी.म.न.पा.–१६, नगुवा नयाँ बस्तीस्थित शिवम टोलमा रहेको रोहित प्रसाद कानुको घरमा लुकाई राखिएको ५६ हजार ८ सय रुपैयाँ बराबरको चिनी, पुराना बोरासिलाउने मेसिन तथा डिजिटल मेसिन बरामद गरेको हो। सो सामग्री ऐन अनुशार आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाइएको छ।
सशस्त्र प्रहरी बल नेपालले सिमा सुरक्षासँगै भन्सार छलाफट तथा अवैध कारोबार नियन्त्रण गर्न नियमित रूपमा निगरानी र कारबाही गर्दै आएको छ।