Logo

१४ असार, वीरगञ्ज । दक्षिण भारतीय लोकप्रिय नायिका रश्मिका मन्दन्नाको अभिनय रहने बहुप्रतीक्षित फिल्म ‘मैसा’ ले उनको करिअरमा नयाँ मोड ल्याउने संकेत देखिएको छ । चलचित्रको औपचारिक प्रदर्शन मिति अझै तय नभए पनि हालै सार्वजनिक गरिएको पोस्टरले फिल्मप्रति दर्शकको चासो चुलिएको छ।

रश्मिकाले शुक्रबार सार्वजनिक गरेको पोस्टरमा उनी विगतका हल्का र प्रेमप्रधान भूमिकाभन्दा पूर्ण रूपमा फरक अवतारमा देखिएकी छन्। पोस्टरमा उनी क्रोधी मुद्रामा प्रस्तुत भएकी छन्, अनुहारमा चोट र रगत देखिन्छ, जसले फिल्ममा उनको भूमिकाको गहिराइ झल्काउँछ ।

फिल्मको निर्माण पक्षले अझैसम्म कथावस्तु वा अन्य विवरण खुलाएको छैन, तर रश्मिकाको गम्भीर र सशक्त अभिनय देखाउने यो प्रयासले फिल्मप्रेमी तथा समिक्षकहरूबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ।

सिने विश्लेषकहरूका अनुसार, ‘मैसा’ रश्मिकाको करिअरकै सबैभन्दा चुनौतीपूर्ण र फरक फिल्म बन्न सक्नेछ। उनका प्रशंसकहरू पनि यस भूमिकालाई लिएर उत्साहित छन् र पोस्टर सार्वजनिक भएलगत्तै सामाजिक सञ्जालमा चर्चा चुलिएको छ।

रश्मिका मन्दन्ना यतिबेला दक्षिण भारतीय फिल्म उद्योगका साथसाथै बलिउडमा पनि आफ्नो पहिचान बनाउँदैछिन् । ‘मैसा’ उनको अभिनय क्षमतालाई नयाँ उचाइमा पुर्‍याउने विश्वास गरिएको छ ।


सम्बन्धित समाचार