
१५ असार, काठमाडौँ । संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ । आजको बैठकमा निजामती विधेयक पारित गर्ने कार्यसूची तय भएको छ । दिउँसो १:०० बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बस्ने प्रतिनिधिसभाको बैठकमा निजामती विधेयकमाथि छलफल हुनेछ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित सङ्घीय निजामती सेवा विधेयक, २०८० माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । सांसदहरूले विधेयकमाथि आफ्ना धारणा राखेपछि यसलाई पारित गरिनेछ ।
प्रतिनिधिसभाबाट पारित भएपछि यो विधेयक राष्ट्रियसभामा पठाइनेछ । राष्ट्रियसभाले पनि पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाएपछि सभामुखले प्रमाणित गर्नुहुनेछ । सभामुखले प्रमाणित गरेपछि विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेस गरिनेछ र राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि कानुनका रूपमा कार्यान्वयनमा आउनेछ ।
लामो समयदेखि प्रशासनिक सङ्घीयता कार्यान्वयनमा देखिएका जटिलता हटाउन यो विधेयक महत्त्वपूर्ण मानिएको छ । गत असार ३ गतेको बैठकमा पनि यो विधेयक पारित गर्ने कार्यसूचीमा राखिए पनि अन्तिम समयमा रोकिएको थियो ।
प्रतिनिधिसभाको बैठक सकिएलगत्तै राष्ट्रियसभाको बैठक बस्नेछ । राष्ट्रियसभाको बैठकमा विनियोजन विधेयक, २०८२ अन्तर्गतका विभिन्न मन्त्रालयको विनियोजन शीर्षकमा छलफल हुनेछ ।