
१५ असार, काठमाडौं । बैंकिङ प्रणालीमा तरलता (लगानीयोग्य पुँजी) थुप्रिँदै जाँदा नेपाल राष्ट्र बैंकका लागि यसको व्यवस्थापन टाउको दुखाइ बनेको छ।
बैंकहरूले कर्जा लगानी बढाउन नसक्दा बजारमा पैसा थुप्रिएको हो। यही समस्या समाधान गर्न राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट थप ३० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ। केन्द्रीय बैंकले ६३ दिन अवधिका लागि निक्षेप संकलन उपकरण (डिपोजिट कलेक्सन) निष्कासन गरेर यो रकम बजारबाट उठाउन लागेको हो।
आज दिउँसो ३ बजेसम्म अनलाइनमार्फत बोलकबोल (बिडिङ) प्रक्रिया पूरा गरिने राष्ट्र बैंकले जनाएको छ। बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँदेखि आह्वान गरिएको कुल रकमसम्म ५ करोडको गुणनमा बोलकबोल गर्न सक्नेछन्।
निक्षेप संकलन गर्दा सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने बैंकलाई प्राथमिकता दिइने राष्ट्र बैंकको भनाइ छ। केन्द्रीय बैंकको यो कदमले तरलताको चाप कम गर्न र वित्तीय स्थायित्व कायम राख्न मद्दत पुग्ने अपेक्षा गरिएको छ।