
१६ असार, काठमाडौं । इरानको न्यायपालिकाले गत जुन २३ मा राजधानी तेहरानको एभिन जेलमा भएको इजरायली आक्रमणमा कम्तीमा ७१ जनाको मृत्यु भएको पुष्टि गरेको छ।
मिजान समाचार एजेन्सीले न्यायपालिकाका प्रवक्ता असगर जहाँगीरलाई उद्धृत गर्दै जनाएअनुसार, आक्रमणका पीडितहरूमा जेल कर्मचारी, सुरक्षाकर्मी, कैदीहरू, उनीहरूलाई भेट्न आएका परिवारका सदस्यहरू र जेल नजिकैका भवनहरूका बासिन्दाहरू समेत रहेका छन्।
जहाँगीरले यस आतंकवादी र क्रूर आक्रमणू मार्फत इजरायलले अन्तर्राष्ट्रिय कानुनप्रतिको आफ्नो प्रतिबद्धताको कमी पुनः एकपटक पुष्टि गरेको बताएका छन्। स्मरण रहोस्, जुन १३ मा इजरायलले इरानका आणविक र सैन्य स्थलहरू लगायत विभिन्न क्षेत्रमा ठूला हवाई आक्रमणहरू सुरु गरेको थियो। १२ दिनसम्म चलेको द्वन्द्वपछि इरान र इजरायलबीच युद्धविराम भएको थियो।