Logo

१६ असार, काठमाडौं । सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा अविरल वर्षाका कारण करिब एक हजार घर डुबानमा परेका छन्। यसैगरी, कञ्चनपुरका विभिन्न स्थानमा पनि बाढी पसेर केही घर प्रभावित भएका छन्। दुवै जिल्लामा गरेर हालसम्म १२ जनालाई सकुशल उद्धार गरिएको छ।

धनगढीमा डुबानको अवस्था

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी राजकुमार सिंहका अनुसार धनगढी उपमहानगरपालिका–७ को बेली गाउँका ४ जना र वडा नम्बर १३ को श्रीलंकाका ४ जना गरी आठ जनाको उद्धार गरिएको छ। बेलीका सीताराम रानाको परिवारलाई डुबानमा परेको घरबाट उद्धार गरी आफन्तकोमा सारिएको छ भने श्रीलंकाका भागीराम चौधरीको परिवारलाई स्थानीय नवज्योति आधारभूत विद्यालयमा राखिएको छ।

जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत शिवराज जोशीका अनुसार धनगढी उपमहानगरपालिकाका वडा नम्बर १, २, ३, ४, ५, ७, ८ र १० गरि झन्डै एक हजार घरमा पानी पसेको छ। यद्यपि, हालसम्म मानवीय वा ठूलो भौतिक क्षति भने भएको छैन। आइतबार साँझदेखि निरन्तर वर्षा भइरहेको र यही अवस्था रहेमा थप मानिस प्रभावित हुन सक्ने भन्दै सोहीअनुसार तयारी भइरहेको प्रशासनले जनाएको छ।

कञ्चनपुरमा पनि बाढीको प्रभाव

जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो २४ घण्टामा कञ्चनपुरको बेलौरीमा २६७ मिलिमिटर र धनगढी एयरपोर्ट आसपास २०२।२ मिलिमिटर अति भारी वर्षा मापन भएको छ।

अति भारी वर्षासँगै कञ्चनपुरको पुनर्बास र कृष्णपुर लगायतका स्थानका केही घरमा बाढी पसेको छ। प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले दिएको जानकारीअनुसार कृष्णपुर–५ पवित्रबस्तीकी आरती विकको घरका चार जना सदस्यलाई उद्धार गरी नजिकैको आधारभूत विद्यालयमा राखिएको छ। यसैगरी, पुनर्बासमा एउटा घर तथा बेदकोट र भीमदत्तको सिमानामा पाँच वटा घरमा पनि बाढी पसेको छ। यद्यपि, यहाँ पनि मानवीय र ठूलो भौतिक क्षति नभएको प्रजिअ ढकालले बताएका छन्।


सम्बन्धित समाचार