
१६ असार, काठमाडौं । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमाथि छलफलका लागि आज बोलाइएको प्रदेशसभा बैठक एकै दिन दुई पटक स्थगित भएको छ।
दिउँसो १ बजेका लागि तय भएको बैठक सुरुमा ३ बजे र त्यसपछि ४ बजेका लागि सारिएको सभामुख भुवनकुमार पाठकले बताउनुभयो। प्रदेशसभा सचिवालयले भने १ बजेबाटै सिधै ४ बजेलाई सारिएको सूचना जारी गरेको छ।
बजेट विवादले बैठक प्रभावित
गत असार १ गते ६७ अर्ब ४७ करोड रुपैयाँको बजेट प्रस्तुत भएपछि पहिलो पटक असार १२ गते बजेटमाथि छलफलका लागि प्रदेशसभा बोलाइएको थियो। तर, बागमती सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसभित्र बजेटको विषयमा चर्को विवाद उत्पन्न भएपछि प्रदेशसभा बैठक बस्न सकेको छैन।
कांग्रेसका सांसदहरूले मुख्यमन्त्री बहादुर सिंह लामा र आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले बजेटमा बिचौलिया हावी भएको, आफ्ना योजनाहरू समावेश नगरिएको र निर्वाचन क्षेत्रमा सांसदका योजनाहरू नपरेको भन्दै छानबिनको माग गरेका छन्। यसअघि बसेको संसदीय दलको बैठकमा असन्तुष्ट सांसदहरूले बजेटमाथिको छलफलमा सहभागी नहुने चेतावनी दिएपछि असार १२ गतेको बैठक स्थगित गरिएको थियो।
कांग्रेस संसदीय दलको बैठक जारी
बजेट विवाद सुल्झाउन आज बिहान साढे ११ बजेदेखि बसेको कांग्रेस संसदीय दलको बैठक करिब पाँच घण्टादेखि जारी छ। बैठकमा सहमति जुट्न नसक्दा प्रदेशसभा बैठक सञ्चालनमा थप अन्योल बढेको छ। यदि बजेट यथास्थितिमा अगाडि बढाएमा सांसदहरूले फेरि छलफलमै सहभागी नहुने चेतावनी दिएका छन्।