
१६ असार,काठमाडौं । शिक्षकहरूको आन्तरिक र खुला प्रतिस्पर्धा मार्फत हुने पदपूर्तिको अनुपातमा सहमति नहुँदा नेपाल शिक्षक महासंघ र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबीचको छलफल बिनानिष्कर्ष टुंगिएको छ।
सोमबार भएको वार्तामा दुवै पक्ष आ–आफ्नो अडानमा कायम रहेपछि सहमति जुट्न नसकेको हो। शिक्षक महासंघले शिक्षक पदहरूमा ७५ प्रतिशत आन्तरिक प्रतिस्पर्धा र २५ प्रतिशत खुला प्रतिस्पर्धा बाट पदपूर्ति हुनुपर्ने माग राख्दै आएको छ। यसको विपरीत, शिक्षा मन्त्रालय ले भने यो अनुपातमा जान नसकिने अडान लिएको छ। मन्त्रालयले ६० प्रतिशत खुला प्रतिस्पर्धा र ४० प्रतिशत आन्तरिक प्रतिस्पर्धा मार्फत शिक्षक छनोट गर्ने प्रस्ताव अघि सारेको छ। महासंघले मन्त्रालयको यो प्रस्तावप्रति असन्तुष्टि व्यक्त गरेको छ।
यस विषयमा शिक्षामन्त्री रघुजी पन्त ले समेत शिक्षक महासंघसँग छलफल गरेका थिए। प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति मा ७५:२५ को अनुपातबारे कुरा उठेकाले मन्त्रालयले समितिको बैठक रोकेर महासंघसँग वार्ता गरेको थियो। समितिको उपसमितिले भने यसअघि नै आन्तरिकमा ६० र खुलामा ४० प्रतिशतको प्रतिस्पर्धा हुने सहमति जुटाएको थियो। तर, सांसदहरूले शिक्षकहरूसँग खुलामा २५ र आन्तरिकमा ७५ प्रतिशत हुने सहमति भएको भन्दै यस विषयमा पुनः छलफल गर्नुपर्ने धारणा राखेका थिए।