
१७ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई क्षणिक लाभको लोभमा परी हुन्डीजस्ता गैरकानुनी कारोबार नगर्न सचेत गराएको छ। राष्ट्र बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले वित्तीय चेतना बढाउन जारी गरेको एक सूचनामार्फत यस्तो आग्रह गरेको हो।
के हो हुन्डी कारोबार?
राष्ट्र बैंकका अनुसार, हुन्डीसम्बन्धी कारोबार भन्नाले प्रचलित कानुनबमोजिम मान्यताप्राप्त संस्था वा भुक्तानी उपकरणबाहेक अन्य व्यक्ति, उपकरण वा कुनै माध्यम प्रयोग गरी नेपालबाट विदेशमा वा विदेशबाट नेपालमा रकम वा मूल्य स्थानान्तरण, हिसाब मिलान वा भुक्तानी लिनेरदिने गरी व्यवसाय गरिने कार्य हो। यो कारोबारमा वास्तविक हिसाबकिताब लुकाएर रकमको भुक्तानी लिने वा दिने गरिन्छ।
कानुनी कारबाही र सजाय
मुलुकी अपराध संहिता, २०७४ को दफा १२५क ले हुन्डीसम्बन्धी कारोबार गर्न वा गराउन नहुने स्पष्ट व्यवस्था गरेको छ। यदि कसैले यो कसुर गरेमा बिगो र सो बाट बढेको सम्पत्ति समेत जफत हुनेछ भने एक वर्षसम्म कैद हुने कानुनी प्रावधान छ।
वैधानिक माध्यम प्रयोग गर्न सुझाव
राष्ट्र बैंकले नेपालबाट विदेशमा वा विदेशबाट नेपालमा रकम स्थानान्तरण गर्दा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाहरू र विप्रेषण ९रेमिट्यान्स० कम्पनीहरूको मात्र प्रयोग गर्न सबैलाई सुझाव दिएको छ। यसबाट सुरक्षित र वैध रूपमा रकम पठाउन सकिनेछ। हुन्डी जस्ता गैरकानुनी कारोबारले अर्थतन्त्रमा नकारात्मक असर पार्नुका साथै व्यक्तिगत रूपमा पनि ठूलो जोखिम निम्त्याउँछ।