
१८ असार,काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले काठमाडौंमा डेटिङ एपको आवरणमा अवैध धन्दा सञ्चालन गरेको आरोपमा ६ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ। उनीहरूलाई ललितपुरको दमकल चोकबाट नियन्त्रणमा लिइएको हो।
पक्राउ परेका चिनियाँ नागरिकहरूले दमकल चोकस्थित एक घर भाडामा लिई ’सोसियल सफ्टवेयर डेभलपमेन्ट कम्पनी प्रालि’ नामक कम्पनी दर्ता गरेका थिए। तर, प्रहरीका अनुसार उनीहरूले सोही कम्पनीको आवरणमा अवैध कल सेन्टर, डेटिङ एप सञ्चालन र क्रिप्टो कारोबार गर्दै आएका थिए।
सीआईबीका प्रवक्ता तथा एसपी युवराज खड्काका अनुसार, यी चिनियाँ नागरिकहरूले नेपाली युवा–युवतीहरूलाई डेटिङ एपमार्फत सम्पर्क गरी ’अनलाइन डेटिङ स्क्याम’ मा संलग्न गराउने गरेको पाइएको छ। यसका अतिरिक्त, उनीहरूले अवैध रूपमा क्रिप्टोकरेन्सीको कारोबार पनि गरिरहेको सीआईबीले जनाएको छ।
प्रहरीले उनीहरूको साथबाट १३ लाख ९९ हजार ९५० रुपैयाँ अवैध रकम बरामद गरेको छ। यस घटनाको अनुसन्धानका क्रममा सीआईबीले कुल ५२ जनालाई नियन्त्रणमा लिएको थियो। तीमध्ये, मुख्य ६ जना चिनियाँ नागरिकलाई हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको छ भने बाँकी ४६ जनालाई हिरासतबाहिर राखिएको छ।
यो घटनाले साइबर अपराध र अवैध वित्तीय कारोबारमा विदेशी नागरिकहरूको संलग्नता बढ्दै गएको चुनौतीलाई उजागर गरेको छ। प्रहरीले यसको जालो थप अनुसन्धान गरिरहेको र यसमा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्य जारी राखेको छ।