१४ भदौ, वीरगञ्ज । खानेपानी मन्त्री प्रदीप यादवलाई फोन गरेर वीरगञ्जमा फैलिएको हैजा र दूषित पानी वितरणबारे कडा प्रश्न उठाएकी स्थानीय किरण साहलाई पर्सा प्रहरीले शनिबार पक्राउ गरेको छ।
वीरगञ्ज महानगरपालिका–२४ की साहले हैजाको कारण आफ्नै परिवारका सदस्यहरू अस्पतालको सघन कक्षामा उपचाररत रहेको भन्दै मन्त्री यादवलाई पटक–पटक फोन गरी जवाफ मागेकी थिइन्। फोनमा चर्को स्वरमा कुरा गरेको र धम्की दिएको आरोपमा उनलाई साइबर अपराधअन्तर्गत अनुसन्धानका लागि पक्रिएको हो।
“पानी परीक्षण नगरी वितरण किन?”
साहले मन्त्री यादवलाई फोनमार्फत वीरगञ्जमा दूषित पानी वितरण भएकाले हैजा फैलिएको भन्दै सोधपुछ गरेकी थिइन्। सामाजिक सञ्जालमा भाइरल अडियोमा साहले मन्त्रीलाई सोध्छिन्, “कति जनाको हैजाबाट मृत्यु भयो? परीक्षण नगरी पानी किन वितरण गर्नुभयो? मेरो आफ्नै परिवारको सदस्य आयसीयूमा छ, म तपाईंलाई छोड्दिनँ, डर लाग्दैन।”
उक्त अडियोमा साहले आक्रोशपूर्वक मन्त्री यादवलाई जिम्मेवारीबोध गराउँदै हैजा नियन्त्रणमा सरकारले चासो नदिएको आरोप लगाएकी थिइन्।
उजुरीका आधारमा पक्राउ
पर्साका प्रहरी प्रमुख गौतम मिश्रका अनुसार खानेपानी मन्त्रालयको सचिवालयबाट साइबर अपराधसम्बन्धी उजुरी परेपछि साहलाई वीरगञ्जको मुर्लीबाट नियन्त्रणमा लिइएको हो। “उक्त उजुरीका आधारमा उनलाई पक्राउ गरी आवश्यक सोधपुछ गरिँदैछ,” उनले बताए।
सामाजिक सञ्जालमा विभाजित प्रतिक्रिया
किरण साहको अडियो सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा घटना प्रति जनभावना तीव्र रूपमा देखिएको छ। कतिपयले नागरिकले आवाज उठाउँदा प्रहरी नियन्त्रणमा लिने कार्यप्रति आलोचना गरेका छन् भने केहीले सरकारी पदाधिकारीलाई गालीगलौज गर्नु निन्दनीय भएको बताएका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

















