Logo

१९ फागुन,वीरगञ्ज । प्रतिनिधिसभा निर्वाचन निष्पक्ष, धाँधलीरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन सम्पूर्ण सुरक्षा तयारी पूरा भएको जिल्ला प्रशासन कार्यालय रौतहट ले जनाएको छ।

प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालका अनुसार शान्तिपूर्ण निर्वाचन सुनिश्चित गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, नेपाली सेना र निर्वाचन प्रहरी परिचालन गरिएको छ। नेपाली सेनाले जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा बम डिस्पोजल टोलीसमेत खटाएको छ।

निर्वाचन स्थलको पहिलो घेरामा नेपाल प्रहरी र म्यादी प्रहरी रहनेछन् भने बाहिरी घेरामा सशस्त्र प्रहरी र नेपाली सेनाले सुरक्षा प्रदान गर्नेछन्। तीनवटै सुरक्षा निकायको संयुक्त टोलीले गस्तीसमेत गरिरहेको प्रशासनले जनाएको छ।

रौतहटका चार निर्वाचन क्षेत्रमा २७७ मतदानस्थलअन्तर्गत ५४१ मतदान केन्द्र तोकिएका छन्। जिल्लामा कुल ४ लाख ३६ हजार ६ सय ११ मतदाता रहेका छन्। सबै मतदान केन्द्रमा निर्वाचन सामग्रीसहित कर्मचारीहरू पुगिसकेको प्रशासनले जानकारी दिएको छ।

भारतसँग जोडिएको सीमा नाका हिजो रातिदेखि ७२ घण्टाका लागि बन्द गरिएको छ। भारतबाट नेपालतर्फ आउने नेपाली नागरिकलाई नागरिकता जाँच गरी मात्र प्रवेश दिइने व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी भुसालले बताए।

यसैबीच, जिल्ला निर्वाचन कार्यालय रौतहट का अनुसार समानुपातिक तर्फको मतदानका लागि जिल्लाका तीन स्थानमा व्यवस्था मिलाइएको छ। गौर स्थित जिल्ला अदालतको चौर, इलाका प्रहरी कार्यालय गौरको मैदान र कारागार मतदान स्थलमा समानुपातिक मत खसाल्ने व्यवस्था गरिएको निर्वाचन कार्यालय प्रमुख छोटेलाल दासले जानकारी दिए।

प्रमुख जिल्ला अधिकारी भुसालले सम्पूर्ण सुरक्षा प्रबन्ध मिलाइएको उल्लेख गर्दै मतदातालाई निर्धक्क भई आफ्नो मतदान स्थलमा पुगेर मताधिकार प्रयोग गर्न आग्रह गरेका छन्।


सम्बन्धित समाचार