४ असोज,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले नगरको विकास र जनताको सेवामा सबै जनप्रतिनिधीहरूलाई हौंसला उच्च पार्न आग्रह गरेका छन्। शनिबार वीरगञ्ज नगरसभागृहमा आयोजित महानगरपालिकाको १८औं विशेष अधिशन (विशेष नगरसभा) लाई सम्बोधन गर्दै मेयर सिंहले जनेजी आन्दोलनका क्रममा अराजक समूहबाट ध्वस्त बनाइएका सार्वजनिक सम्पत्ति र भवनहरुको पुनर्निर्माणमा आफूहरु सक्रिय रहेको बताए।
मेयर सिंहले विशेष नगरसभामा उपस्थित वडाध्यक्ष, कार्यपालिका सदस्य तथा कर्मचारीहरुलाई अहिलेको विषम परिस्थितिमा सबैले एकजुट भएर नगर विकास र सेवाग्राहीलाई आवश्यक सेवा प्रदान गर्न आफूहरू जुट्नुपर्नेमा जोड दिएका थिए। उनले भने, “तपाईंहरुको साथ र सहयोगले मलाई पनि काममा सहजता मिल्नेछ भन्ने अपेक्षा राख्दछु। अब सबैले हौंसला उच्च गरेर जनताको सेवामा लाग्नु जरुरी छ।”
त्यसैगरी, शनिबारको विशेष नगरसभाले जनेजी आन्दोलनको समयमा तोडफोड र आगजनीबाट क्षतिग्रस्त भएका संरचनाहरुको पुनर्निर्माण र व्यवस्थापनका लागि चालु आर्थिक वर्षको बजेट संशोधन गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ। महानगर प्रमुख प्रशासकीय अधिकृत अरबिन्दलाल कर्णका अनुसार, मेयर सिंहद्वारा प्रस्तुत पुनर्निर्माण सम्बन्धी प्रस्ताव नगरसभामा पारित भई अब कार्यान्वयनको तयारीमा रहेको छ।
यसले वीरगञ्ज महानगरलाई नयाँ रूप दिन र विकासमा थप गतिशीलता ल्याउने अपेक्षा गरिएको छ। मेयर सिंहले सबै सरोकारवालाहरुलाई सहयोग र समन्वय गर्न समेत अनुरोध गरेका छन्।

















