४ असोज,वीरगञ्ज । मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले जेनजीको प्रदर्शनका क्रममा तोडफोड तथा आगजनीबाट क्षतिग्रस्त भएका सरकारी कार्यालयहरू बडादसैँपछि पूर्ण रूपमा सेवा सञ्चालनमा आउने जानकारी दिएका छन्।
आज पत्रकारहरूसँगको सङ्क्षिप्त कुराकानीमा मुख्यमन्त्री सिंहले प्रदर्शनका क्रममा मधेस प्रदेश सरकारअन्तर्गतका विभिन्न मन्त्रालय र निकायहरूको भौतिक संरचनामा ठूलो क्षति पुगेको बताए। “संरचनाको मर्मत तथा पुनःनिर्माणको काम जारी छ, अझै केही दिन समय लाग्नेछ,” उनले भने, “तर बडादसैँपछि सेवा सुचारु हुन्छ।”
उनका अनुसार सुरक्षा अवस्था क्रमिक रूपमा सुधार हुँदै गएको छ र विभिन्न मन्त्रालय तथा कार्यालयहरूमा कर्मचारीहरू काममा फर्कन थालेका छन्। तर उनले काम गर्ने भौतिक पूर्वाधारको समस्या अझै यथावत् रहेको र त्यसको सुधारका लागि थप समय लाग्ने उल्लेख गरे।
सरकारी संरचनामा भएको क्षतिको मूल्याङ्कन गर्न प्रदेश सरकारले पाँच सदस्यीय समिति गठन गरेको छ। उक्त समितिले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, मधेस प्रदेशसभा भवन तथा सचिवालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, ऊर्जा तथा सिँचाइ मन्त्रालय, श्रम तथा यातायात मन्त्रालयलगायतका प्रभावित कार्यालयहरूको क्षतिको विवरण संकलन गर्नेछ।
जेनजी आन्दोलनको क्रममा सरकारी भवनहरूमा आगजनी र तोडफोड गर्नुका साथै सवारी साधनहरू समेत क्षतिग्रस्त बनाइएका थिए। साथै सुरक्षा अभावका कारण धेरै सरकारी सामग्री लुटपाटमा परेका थिए।

















