Logo

४ असोज,वीरगञ्ज । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले वर्तमान भ्रष्ट र दलाल प्रवृत्तिको व्यवस्थालाई अन्त्य गर्न प्रदेश सरकारहरू विघटन गर्नुपर्ने धारणा व्यक्त गरेका छन्।

काठमाडौँमा जारी पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै साहले प्रदेश सरकार खारेज नगरी सङ्घीयता बलियो नबन्ने तर्क राखे। उनका अनुसार अहिलेको संरचना भ्रष्टाचार, कुशासन र अनियमितताको मूल स्रोत बनेको छ।

“देशको अवस्था किन दिनानुदिन बिग्रँदो छ भने यसको मूल जड दलाल दलतन्त्र हो,” उनले भने, “अब समय आम जनताको शासन ल्याउने हो।” उनले वर्तमान राजनीतिक प्रणालीलाई जनतामाथिको अन्यायपूर्ण शोषणको साधनको रूपमा चित्रण गरे।

अध्यक्ष साहले आजपाले दुई वर्षअघि नै तेस्रो जनआन्दोलनको घोषणा गरिसकेको स्मरण गराउँदै हाल उठेको जेनजी आन्दोलन त्यसैको जगमा आधारित रहेको दाबी गरे।

उनले संविधान र हालको राज्य व्यवस्था नै गलत रहेको टिप्पणी गर्दै भने, “यो संविधान खारेज गरेर भए पनि जेनजीका मागहरू सम्बोधन गर्नुपर्छ, यही संविधानमा रहेर समाधान सम्भव छैन।” साथै उनले मुलुकको राष्ट्रियता, लोकतन्त्र र अर्थतन्त्र सत्तारूढ दलहरूको ‘लुटतन्त्र’का कारण कमजोर हुँदै गएको आरोप लगाए।


सम्बन्धित समाचार