Logo

४ असोज, काठमाडौं । चाडपर्वका समयमा यात्रुहरूको आवागमनलाई सहज बनाउन भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले आज सरोकारवाला निकायहरूसँग विस्तृत छलफल गरेका छन्। बैठकमा सडक सुरक्षादेखि लिएर सवारी व्यवस्थापन, पहिरो प्रभावित क्षेत्रको सुधार र यात्रुको गुनासो व्यवस्थापनसम्मका विषयमा महत्वपूर्ण निर्णयहरू लिइएका छन्।

छलफलपछि मन्त्री घिसिङले २४ घण्टा यात्रुलाई सडक अवस्थाबारे जानकारी दिन र गुनासो सुन्ने ‘हेल्पलाइन’ व्यवस्थापन गर्न निर्देशन दिएका छन्। साथै बाढी र पहिरोले अवरुद्ध भएका सडकहरू तत्काल सञ्चालनमा ल्याउन सडक विभागलाई निर्देशन दिएका छन्।

दशैँ अवधिमा काठमाडौँ उपत्यकाबाट बाहिर जाने सार्वजनिक सवारीसाधनहरूलाई नागढुङ्गा–सिस्नेरी–सुरुङमार्गमार्फत बाहिर पठाउने व्यवस्था मिलाउने र दशैँपछि ती सवारीहरू उपत्यकामा पुनः प्रवेश गर्न दिने निर्णयसमेत बैठकमा भएको मन्त्री घिसिङको सचिवालयले जनाएको छ।

काठमाडौँको नयाँ बसपार्क र देशका विभिन्न राजमार्गहरूमा सुरक्षा व्यवस्थालाई चुस्त बनाउन प्रहरी गस्ती तथा जनशक्ति थप गर्न नेपाल प्रहरीलाई निर्देशन दिन गृह मन्त्रालयलाई अनुरोध गर्ने निर्णय पनि गरिएको छ।

राजमार्गहरूको अवस्था र यात्रु सुरक्षालाई ध्यानमा राख्दै बुटवल–नारायणघाट सडकको दाउन्ने खण्डमा दसैँ अवधिभर १२ चक्के र सोभन्दा माथिका भारी सवारीसाधन सञ्चालन नगर्न अनुरोध गरिएको छ। यद्यपि खाद्यान्न तथा अत्यावश्यक वस्तु ढुवानी गर्ने सवारीहरू भने सन्चालनमा रहनेछन्।

सडक विभागलाई मुलुकभरका मुख्य सडकहरू सुधार गर्न, पहिरो व्यवस्थापन गर्न आवश्यक सामग्री तथा जनशक्ति परिचालन गर्न, तुइन खोलामा पहिरो हटाएर नारायणघाट–मुग्लिन सडक सञ्चालनमा ल्याउन, र तातोपानी नाका जोड्ने सडक दशैँअघि सञ्चालनमा ल्याउन निर्देशन दिइएको छ।

यात्रुलाई मौसम र सडकको अवस्थाबारे जानकारी गराउन सार्वजनिक सूचना जारी गर्ने र त्यसका लागि २४ घण्टे ‘फोकल पर्सन’ प्रणाली लागू गर्ने निर्णयसमेत बैठकमा गरिएको छ।

आजको बैठकमा मन्त्रालयका सचिव, यातायात व्यवस्था विभाग र सडक विभागका महानिर्देशकहरू, नेपाल प्रहरीका प्रतिनिधि तथा यातायात व्यवसायी महासङ्घका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।


सम्बन्धित समाचार