४ असोज,सुनसरी । धरान उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि रु २ अर्ब २० करोड ७४ लाख ५९ हजारको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ। आज १७औँ नगरसभामा उपप्रमुख अइन्द्रविक्रम बेघाले यो बजेट प्रस्तुत गर्नुभएको हो।
उपमहानगरपालिकाले बजेटका लागि विभिन्न स्रोतहरूबाट रकम प्राप्त हुने अनुमान गरेको छ। तीमध्ये, आन्तरिक राजस्वबाट रु ८० करोड ५३ लाख ६५ हजार सबैभन्दा ठूलो हिस्सा रहेको छ। यस्तै, सङ्घीय सरकारबाट रु ८९ करोड २९ लाख र प्रदेश सरकारबाट रु ७ करोड ७३ लाख ४४ हजार अनुदान प्राप्त हुने अपेक्षा गरिएको छ। अन्य स्रोतहरूमा राजस्व बाँडफाँट, सडक बोर्ड र गत वर्षको मौज्दात पनि समावेश छन्।
बजेटमा विभिन्न क्षेत्रलाई प्राथमिकता दिँदै रकम विनियोजन गरिएको छ। सबैभन्दा बढी बजेट सहरी योजना तथा भौतिक पूर्वाधार विकासतर्फ रु ६६ करोड ९४ लाख छुट्याइएको छ। त्यसपछि, शिक्षा, युवा तथा खेलकुदलाई रु ४६ करोड ८५ लाख र स्वास्थ्यलाई रु ६ करोड ९९ लाख ९५ हजार विनियोजन गरिएको छ।
यसका साथै, बजेटमा कृषि, सामाजिक विकास, विपद् व्यवस्थापन, वन वातावरण र ऊर्जाजस्ता क्षेत्रहरूलाई पनि विशेष प्राथमिकता दिइएको उपप्रमुख बेघाले बताउनुभएको छ। नगरका २० वटै वडाका लागि रु २१ करोड विनियोजन गरिएको छ।
यस बजेटमा विशेष अनुदान र समपूरक बजेटतर्फ पनि रकम छुट्याइएको छ। नगर कार्यपालिकातर्फ भने निःसर्त विनियोजन र ससर्त अनुदानबाट ठूलो रकम विनियोजन गरिएको छ। यसले नगरको समग्र विकास र सेवा प्रवाहलाई गति दिने अपेक्षा गरिएको छ।

















