४ असोज,वीरगञ्ज । वीरगन्जका युवाहरूको एक समूहले शनिबार अन्तरिम सरकारलाई ६ बुँदे मागसहितको ध्यानाकर्षण पत्र बुझाएको छ। जेनजी आन्दोलनकारी समूह पर्साका नामबाट गएका युवाहरूले गृहमन्त्री ओमप्रकाश अर्याललाई भेटेर आफ्ना मागहरू राखेका हुन्।
उक्त ध्यानाकर्षण पत्रमा जेनजी आन्दोलनमा संलग्न युवाहरूलाई डर-धम्की दिई झूठा मुद्दा लगाएर फसाउन खोज्नेहरूलाई तत्काल कारबाही गर्न माग गरिएको छ। साथै, आन्दोलनमा घुसपैठ गरी आगजनी र लुटपाटमा संलग्न व्यक्तिहरूको पहिचान गरी कारबाही गर्न एक उच्चस्तरीय छानबिन समिति गठन गर्न पनि माग गरिएको छ।
यसका साथै, युवाहरूले राजनीतिक प्रणालीमा सुधारका लागि पाँच प्रमुख मागहरू पनि अगाडि सारेका छन्:
प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रप्रमुख हुनुपर्ने।
सबै राजनीतिक नियुक्तिहरू खारेज गरी योग्य व्यक्तिहरूलाई जिम्मेवारी दिनुपर्ने।
दलगत पेशागत संगठनहरू खारेज गर्नुपर्ने।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग खारेज गरी नागरिक आयोग गठन गर्नुपर्ने।
पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गर्नुपर्ने।
गृहमन्त्री अर्याललाई ध्यानाकर्षण पत्र बुझाउन गएको टोलीमा वीरगन्जका युवाहरू सुधिर पटेल, महादेवप्रसाद कुर्मी, वीरेन्द्र कण्ठ, वासिम शेख, सञ्जय श्रेष्ठ, शेख जमसेद, सागर यादव र मुकेश यादव लगायतको सहभागिता थियो।

















