४ असोज,वीरगञ्ज । जनमत पार्टीबाट कारबाहीमा परेका तथा अलग भएका नेताहरूले आज (शनिबार) मधेस प्रदेशको राजधानी जनकपुरमा नयाँ पार्टी ‘जनस्वराज’ गठन गरेका छन्। डा. सञ्जयकुमार साहको अध्यक्षतामा दुई दिनसम्म चलेको बैठकपछि उक्त पार्टी घोषणा गरिएको हो।
पार्टी अध्यक्ष नभई सामूहिक नेतृत्वमा पार्टी सञ्चालन गर्ने योजना रहेको छ। नयाँ पार्टीका नेता ई. दीपक साहले भने, “पार्टी सञ्चालनका लागि विभिन्न विभागहरू गठन गर्नेछौँ र ती विभागहरूको जिम्मेवारी दिएर पार्टीको गतिविधि अघि बढाइनेछ।”
पार्टीसँगै तीनवटा विभाग पनि गठन गरिएको छ। राजनीतिक संगठन विभागको जिम्मेवारी दीपक साहलाई, आर्थिक विभागको जिम्मेवारी ई. सुरेन्द्रनारायण यादवलाई, र प्रशिक्षण विभागको जिम्मेवारी डा. सञ्जयकुमार साहलाई दिइएको छ। अन्य नेताहरूलाई पनि विभागीय जिम्मेवारी दिने तयारी भइरहेको बताइएको छ।
दीपक साह र यादव जनमत पार्टीका पूर्व उपाध्यक्ष तथा कोषाध्यक्ष हुन्, जो अध्यक्ष डा. सीके राउतले कारबाही गरी पार्टीबाट निकालेका थिए। यसअघि जेनजी आन्दोलनपछि पनि केही नेताले विद्रोह गरी जनमत पार्टी छाडेका थिए। ती नेताहरू हाल नयाँ पार्टीमा भने छैनन्, तर निरन्तर संवाद भइरहेकै छ।
‘जनस्वराज’ पार्टीले मधेसका जनताको सम्यक् अधिकार र समृद्ध समाज निर्माणका लागि अभियान चलाउने जनाएको छ।

















