२४ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी निर्वाचन लक्षित गर्दै १५ कात्तिकभित्र उम्मेदवार चयन प्रक्रिया सुरु गर्ने निर्णय गरेको छ। असोज २२ र २४ गते बसेको सचिवालय बैठकले उम्मेदवार छनोट प्रक्रिया अगाडि बढाउन सहमहामन्त्री विपिनकुमार आचार्यलाई जिम्मेवारी दिएको हो।
पार्टीका प्रवक्ता मनिष झाले दिएको जानकारीअनुसार, एकीकृत निर्वाचन खाका अन्तर्गत उम्मेदवार छनोट विधिमा प्रदेश, जिल्ला, निर्वाचन क्षेत्र र पालिका तहसम्मबाट सुझाव संकलन गरी मस्यौदा तयार गर्ने कार्य आचार्यको नेतृत्वमा हुनेछ।
यसका लागि प्रदेश सभापति तथा केन्द्रीय निर्वाचन आयोगका प्रतिनिधिहरू सम्मिलित सुझाव संकलन कार्यदल गठन गर्ने निर्णय गरिएको छ। कार्यदललाई सात दिनभित्र सुझाव संकलन गरी प्रतिवेदन बुझाउन समयसीमा तय गरिएको छ। कार्यदलको सुझावका आधारमा उम्मेदवार आव्हानको तयारी कात्तिक १५ भित्र गर्ने तयारी छ।
उच्च संवाद समिति संयोजन डा. स्वर्णिम वाग्लेलाई
बैठकले पार्टी उपसभापति डा. स्वर्णिम वाग्लेलाई उच्च संवाद समितिको संयोजकको जिम्मेवारी पनि दिएको छ। देशको वर्तमान राजनीतिक अवस्थालाई ध्यानमा राख्दै राष्ट्रिय हित, एकता र सौहार्दता प्रवर्द्धन गर्ने उद्देश्यसहित विभिन्न सामाजिक र राजनीतिक समूहहरूसँग संवादको नेतृत्व वाग्लेले गर्ने छन्।
प्रवक्ता झाले अनुसार, पार्टीले गठन गरेका विभिन्न समितिहरूको कार्यक्षेत्रलाई स्पष्ट र एकरूप बनाउँदै, दीर्घकालीन राजनीतिक सहकार्य र समाधानको वातावरण बनाउन उच्च तहको संवाद आवश्यक रहेको भन्दै वाग्लेलाई उक्त जिम्मेवारी दिइएको हो।
रास्वपाको यो निर्णय आगामी निर्वाचनको तयारीमा पार्टीले उठाएको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ, जसले संगठनात्मक रूपमा बलियो उम्मेदवार छनोट प्रक्रिया निर्माण गर्ने अपेक्षा गरिएको छ।

















