२४ असोज, काठमाडौं । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघले आयोजना गर्न लागेको मोटरसाइकल र्याली स्थगित गरिएको छ। भोलि (२५ असोज)का लागि तय गरिएको उक्त र्याली स्थानीय प्रशासनको रोकका कारण स्थगित गर्नुपरेको संघले जनाएको छ।
काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत युवा संघका अध्यक्ष क्षितिज थेबेले प्रशासनले अनुमति नदिएपछि कार्यक्रम स्थगित गर्नुपरेको जानकारी दिए। उनले अब स्थगित र्याली आइतबार (२८ असोज) का लागि अनुमति दिन सरकारसँग माग गरेका छन्।
युवा संघका इन्चार्ज राजीब पहारीले भने, “पहिलोपटक हामीले र्याली स्थगित गरेका छौं, तर दोस्रोपटक रोक्ने प्रयास भयो भने प्रतिवाद गरिनेछ।” उनले सरकारप्रति चेतावनी दिँदै लोकतान्त्रिक अधिकार प्रयोग गर्न नदिएर दमनको बाटो नअपनाउन आग्रह गरे।
के थियो र्यालीको उद्देश्य?
संघले आयोजना गर्न लागेको मोटरसाइकल र्यालीको उद्देश्य युवामाझ सरकारको असफलता र भ्रष्टाचारविरुद्ध जागरण ल्याउनु रहेको जनाइएको छ। यद्यपि स्थानीय प्रशासनले राजधानीको सुरक्षालाई ध्यानमा राख्दै यस्तो र्यालीको अनुमति नदिएको बताइएको छ।
राष्ट्रिय युवा संघले आन्दोलनको कार्यक्रम फेरि तय गर्ने र संविधानसम्मत ढंगबाट दबाबमूलक कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।

















