Logo

२४ असोज, वीरगञ्ज । भूमि व्यवस्था तथा अभिलेख विभागले पर्सा मालपोत कार्यालयका प्रमुखलाई डेढ महिना नपुग्दै सरुवा गरेको छ। भदौ १ गते पर्सामा हाजिर भएका मालपोत अधिकृत खेमराज खत्रीलाई सामान्य प्रशासन मन्त्रालयले कञ्चनपुरस्थित एक नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रूपमा खटाएको हो।

पर्सा मालपोत कार्यालयमा अब देवीबहादुर भण्डारी प्रमुखका रूपमा आएका छन्। उनी महोत्तरीको जलेश्वरस्थित मालपोत कार्यालयबाट सरुवा भएर पर्सा आएका हुन्। भण्डारीले असोज २१ गतेदेखि कार्यालय प्रमुखको जिम्मेवारी सम्हालेका छन्। खत्री भने बिहीबार रमाना लिएर शुक्रबार काठमाडौं फर्किएका छन्।

नेपाल सरकारको वेबसाइटमा जलेश्वर मालपोत कार्यालयका प्रमुखको रूपमा हाल पनि देवीबहादुर भण्डारीकै नाम देखिन्छ भने पर्सा मालपोतको वेबसाइटमा समेत भण्डारीलाई कार्यालय प्रमुखका रूपमा उल्लेख गरिएको छ। एउटै व्यक्ति मधेस प्रदेशका दुई जिल्लाका प्रमुख मालपोत अधिकृतका रूपमा देखिनु सम्बन्धित निकायको सूचना व्यवस्थापनप्रति प्रश्न उठाउने खालको छ।

पर्सामा भण्डारीको सरुवालाई भूमाफियाको प्रभावमा गरिएको भन्ने चर्चा स्थानीय स्तरमा फैलिएको छ। उनी विगतमा पनि विवादास्पद निर्णयका कारण चिनिएका मालपोत अधिकृत हुन्। पर्सामा सार्वजनिक तथा सरकारी जग्गा मात्रै होइन, निजी सम्पत्तिमासमेत भूमाफियाको सक्रिय चलखेल रहेको बताइँदै आएको छ। नापी र मालपोतका केही कर्मचारीको मिलेमतोमा जग्गा हडप्ने गतिविधि भएका तथ्यहरू उजागर भएका छन्।

आदर्शनगर क्षेत्रमा रहेका बैंक, होटल, महल तथा विभिन्न व्यक्तिहरूको घरजग्गासम्बन्धी विवादमा केडिया समूहको नाम जोडिँदै आएको छ। सो क्षेत्रका विवादित जग्गा अझै निरुपण हुन सकेका छैनन्। छपकैया स्थित रेल्वे रोडमा जोडिएको करिब ३२ कठ्ठा जग्गाको विवाद मालपोतले नेपाल सरकारको नाममा दर्ता गरे पनि भूमाफियाको चलखेल रोकिएको छैन।

सुशासनको एजेन्डा बोकेर गठन भएको शुशिला कार्की नेतृत्वको सरकारले विवादास्पद र आलोचित कर्मचारीहरूलाई पुनः महत्वपूर्ण पदमा सरुवा गर्न थालेपछि सरकारको नियतप्रति प्रश्न उठ्न थालेका छन्।

देवीबहादुर भण्डारीका तीन दाजुभाइ लामो समयदेखि मालपोत कार्यालयहरूमा कार्यरत छन्। सेवाग्राहीहरूका अनुसार देशभरका चर्चित मालअड्डामा उनीहरूको “राज” चलेको छ। उनका दाजु लोकबहादुर भण्डारी डिल्लीबजार मालपोत कार्यालयका प्रमुख हुन् भने भाइ शेरबहादुर भण्डारी झापा मालपोत कार्यालयका प्रमुख रहेका छन्।

तीनै भाइको प्रभाव र विवादास्पद गतिविधिबारे विभिन्न सञ्चार माध्यममा पटक–पटक समाचार सार्वजनिक भए पनि भूमाफियाको संरक्षणका कारण उनीहरू दण्डमुक्त रहँदै आएका छन्। जेन–जी आन्दोलनपछि सुशासनको कसम खाएको सरकारले समेत त्यस्ता कर्मचारीहरूलाई पुनः संवेदनशील कार्यालयमा खटाउन थालेपछि शासन प्रणालीको विश्वसनीयता र सरकारको प्रतिबद्धतामाथि गम्भीर प्रश्न उठ्न थालेको छ।

६ महिनामा तीन प्रमुख

भूमाफियाको चंगुलमा रहेको पर्सा मालपोतमा ६ महिना भित्र तीन जना कार्यालय प्रमुखको सरुवा भएको छ । गएको बैशाखमा कार्यालय प्रमुखको रुपमा आएका अशोक भट्टराईको ५ महिना नपुग्दै सरुवा भएको थियो ।

भट्टराईको सरुवा भएपछि धादिङ मालपोतबाट खेमराज खत्री पर्सा आएका थिए । उनको पनि डेढ महिना नपुग्दै सरुवा गएिको छ । उनको ठाउँमा जलेश्वर मालपोतबाट देवी बहादुर भण्डारी सरुवा भएर आएका छन् ।


सम्बन्धित समाचार