Logo

२५ असोज, हेटौंडा। बागमती प्रदेश सभाको रिक्त सभामुख पद पूर्तिका लागि सत्ता गठबन्धन दलहरू नेपाली कांग्रेस र नेकपा एमालेबीच औपचारिक संवाद सुरु भएको छ। प्रदेश सभाको नेतृत्वका लागि मुख्य तीन दलबीच दाबी प्रस्तुत भइसकेको छ।

२४ भदौमा सामाजिक सञ्जालमार्फत राजीनामा घोषणा गरेका तत्कालीन सभामुख भुवनकुमार पाठकले १ असोजमा उपसभामुख अप्सरा चापागाईंसमक्ष लिखित राजीनामा बुझाएसँगै सभामुखको पद रिक्त भएको हो। त्यसयता प्रदेश सभा अवरुद्ध छ भने संसद सचिवालय र भवनसमेत क्षतिग्रस्त भएकाले बैठक सञ्चालनको स्थानबारे अन्योल कायम छ।

तर, दीपावली पर्व अगाडि नै प्रदेश सभा सञ्चालन गर्ने तयारीमा सरकार देखिएको छ। शुक्रबार हेटौंडामा बसेको नेपाली कांग्रेस र एमाले संसदीय दलको संयुक्त बैठकमा प्रदेश सभा यथाशीघ्र सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याइएको आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले जानकारी दिए।

यसैबीच, सभामुख चयन प्रक्रियालाई पनि तीव्रता दिइएको छ। प्रचलित कानुनअनुसार सभामुख पद रिक्त भएको १५ दिनभित्र नयाँ सभामुख चयन गर्नुपर्ने व्यवस्था रहेको छ।

सभामुख पदमा प्रमुख तीन दल—नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र—बीच दाबी उठेको छ। सत्तारूढ कांग्रेसले प्रदेश सभाको ठूलो दल भएको नाताले सभामुख आफ्नो पार्टीले पाउनु पर्ने तर्क गरेको छ भने एमालेले उपसभामुख अप्सरा चापागाईंलाई सभामुखमा उक्लाउने प्रस्ताव अघि सारेको छ।

प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले भने सत्ता गठबन्धनबाहिरको दललाई सभामुख दिनुपर्ने तर्कसहित दाबी पेश गरेको छ। माओवादीका प्रमुख सचेतक रत्नप्रसाद ढकालका अनुसार, सत्ता सन्तुलन कायम गर्न सभामुख पद सरकार बाहिरको दललाई दिनु उपयुक्त हुनेछ।

कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसुदन पौडेलले सभामुख चयनमा सबै दलबीच सहमतिको प्रयास भइरहेको र विवादरहित रूपमा समाधान निकाल्ने प्रयास भइरहेको जानकारी दिए।

बागमती प्रदेशको यो दोस्रो कार्यकाल हो। पहिलो कार्यकालमा नेकपा एमालेका सानुकुमार श्रेष्ठले पाँच वर्ष सभामुखको जिम्मेवारी सम्हालेका थिए।


सम्बन्धित समाचार